– सुरेन्द्र पोखेरल
कपिलवस्तु – एनेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले नेकपा-माओवादी संविधानसभाको निर्वाचनमा नआए लोप भएर जाने बताएका छन्। कपिलवस्तुको गजेहडामा आयोजित सभालाई सम्बोधनगर्दै पूर्व शान्ति मन्त्री समेत रहेका रायमाझीले उनीहरुले चुनाव लत्याउन खोज्छन् भने मोहनविक्रम सिंहको जस्तै हालत हुने बताए।
वैद्य समूहले कुनै पनि बहानामा चुनाव विथोल्न खोजे जनताले उनीहरुलाई जनविरोधीको बिल्ला लगाउने ठोकुवा गरे। रायमाझीले कांग्रेस र एमालेले वैद्यको काँधमा बन्दुक राखेर मिति सार्न खोजेको आरोप लगाए।
माओवादीको ऐजेण्डाबाट तर्सेर कांग्रेस र एमाले वैद्यको मुद्धा भन्दै मिति सार्ने तरखरमा रहेको उनले दाबी समेत गरे। ‘जनताले चुनावमा जान हामीलाई निर्देशन दिइसकेका छन्, हामीकुनै पनि हालतमा पछी हट्दैनौ,’ उनले भने।
नेता रायमाझीले आगामी चुनावमा एमाओवादीको दुई तिहाई बहुमतको आधार तयार भएको दाबी गर्दै एक महिना लामो जनसम्बन्ध सुदृढिकरण अभियानले पुनःनिर्वाचनमा जान कार्यकर्ता तथा जनतामा उर्जा दिएको बताए।