काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।
सम्मेलनमा केन्द्रीय विभाग, सम्पर्क समाज, केन्द्रीय समिति अन्र्तगतका समिति लगायततका गरी झण्डै पाँचसय सहभागी छन् ।
सम्मेलनको उद्घाटन आज राजधानीमा गरिएको एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष कमल थापाले गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चार दलले निषेधको राजनीतिक गरिरहेको आरोप लगाए ।
नेकपा-माओवादीलगायत आन्दोलनरत दलहरुलाई बाहिर राखेर गरिने चुनाव अधुरो र अपुरो हुने भन्दै थापाले प्रमुख चार दलबाट त्यो काम सम्पन्न हुनै नसक्ने ठोकुवा गरे ।
राष्ट्रपति र सरकारले अग्रसरता देखाएर माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गर्नुपर्ने उनको धारणा थियो ।
अख्तियारले पछिल्ला दिनमा भ्रष्टाचारीहरुलाई समाएर राम्रो काम गरेको भन्दै थापाले चार दलका गतिविधिलाई पनि निगरानीमा राख्न थापाले आग्रह गरे ।
कार्यक्रममा बोल्ने राप्रपा नेपालका अन्य नेताहरुले आगामी संविधासभा चुनावमार्फत पार्टीलाई शक्तिशाली पार्टीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।
३ दिनसम्म चल्ने सम्मेलनले संविधानसभाको निर्वाचनको रणनीति तयार गर्ने बताइएको छ ।
RSS