इस्लामावाद । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले तालिवान र आफ्नो मुलुकबीच हुने शान्ति वार्तामा सहजकर्ताको भूमिमा निर्वाह गर्न पाकिस्तानलाई आग्रह गरेका छन् । तालिवानसँगको अवरुद्ध शान्ति वार्ताका विषयमा छलफल गर्न पाकिस्तान पुगेका कारजाईले पाकिस्तानले अफगान उच्च शान्ति समिति र तालिवानबीचको वार्ताका लागि अवसर जुराउन सक्ने उल्लेख गरेका छन ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग इस्लामावादमा भएको भेटवार्तापछि कारजाईले दुवै छिमेकी मुलुकहरुमा सुरक्षा नै मूख्य चासो रहेको बताए ।
पाकिस्तानी प्रधानमन्त्री शरिफले अफगानिस्तानको स्थायित्वका लागि क्षेत्रीय सहयोग गर्न चाहेको बताए । उनले अफगानिस्तानमा शान्ति र मेलमिलाप प्रक्रियाको स्वामित्व ग्रहण गर्न सक्ने नेतृत्व हुुनुपर्नेमा पनि जोड दिए ।
गत जुन महिनामाको निर्वाचनपछि सत्ता सम्हाल्न पुगेका शरिफसँग कारजाईको यो पहिलो भेटघाट हो । पाकिस्तानमा सुरक्षित रुपमा बसेका तालिवानहरु नै आफ्नो मुलुकमा भइरहेका हिंसाको कारक भएको अफगानिस्तानको विश्वास छ ।
अफगानिस्तानले पाकिस्तानी गुप्तचर निकायहरुमाथि पनि अफगान तालिवानलाई सहयोग गरेको आरोप लगाएको छ । पाकिस्तानले भने आरोपहरु अस्वीकार गर्दै आएको छ ।
गत जुनमा तालिवानले कतारमा सम्पर्क कार्यालय खोलेपछि अफगानिस्तान उनीहरु प्रति रुष्ट छ भने शान्ति वार्तामा अमेरिकाको नभई आफ्नो भूमिका मूख्य हुनुपर्नेमा जोड दिंदै आएको छ ।