काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीको झोंकमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले विना कारण वैदेशिक रोजगारमा जाने युवाहरुलाई फर्काएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कडा आपत्ति जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार पत्रकार सम्मेलन गरी अख्तियार र अध्यागम कर्मचारीको द्धन्द्धमा सोझा र गरिब कामदार मारमा परेको उल्लेख गर्यो ।
संघले शनिबार र आइतबार गरी ३ सय भन्दा बढी विदेश उड्न गएका नेपाली कामदारलाई भिसाको भाषा नेपालीमा नभएको निहुँमा उड्न नदिई फर्काएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अरब मुलुकहरुले संसारको जुनसुकै मुलुकलाई भिसा दिंदा आफ्नै भाषामा लेखेर दिने र यसअघि नेपालमा पनि मान्य हुँदै आएकोमा अकस्मात कर्मचारीहरुले दु:ख दिने मनसायले कामदार फर्काएको संघको आरोप छ ।
अध्यक्ष बलबहादुर तामाङले शनिबारदेखि कामदार फर्काउँदा टिकट र अन्य खर्चसहित दैनिक अढाई करोड बढी नोक्सान हुँदै आएको बताए । यसबाट अर्थतन्त्रको मेरुदण्ड रहेको वैदेशिक रोजगारमा नै पर्न सक्ने असरप्रति पनि संघले सचेत गराएको छ ।
अख्तियारको रिसमा अध्यागमले आफ्नो क्षेत्राधिकार बाहिर गएर दु:ख दिएको तामाङको भनाई छ । संघले अनावश्यक कार्यले भएका नोक्सानको पीडितहरुलाई तुरुन्त क्षतिपूर्ति दिन पनि माग गरेको छ ।
संघले समस्याबारे सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव, मूख्य सचिव लगायतको ध्यानाकर्षण गरिसकेको पनि जनाएको छ । समयमा समस्या सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ ।