काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन स्वतन्त्र, स्वच्छ, धाँधलीरहित र विवादमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले राजधानीमा आज निर्वाचन सुरक्षा र चुनौतिबारे छलफल भएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त, सुरक्षा निकायका अधिकारीसहितको छलफलमा उनीहरुले सरकार तथा सुरक्षा निकायहरुको एकीकृत चुनावी सुरक्षा योजना लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको सुरक्षाको जिम्मेवारी सरकारको भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए ।
पोखरेलले धाँधलीरहित निर्वाचन सम्पन्न गर्नको लागि राजनीतिक दलको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै निर्वाचनले मुलुकलाई निकास दिनुपर्ने बताए ।
कार्यक्रममा पूर्व गृहसचिव गोविन्द कुसुमले निर्वाचनको लागि स्वतन्त्र र स्वच्छ वातावरण तयार गर्नु सुरक्षा निकायको लागि चुनौति भएकाले सुरक्षाको दृष्टिकोणले पनि दुई चरणमा निर्वाचन गर्नुपर्ने बताए ।
अन्य सहभागीहरुले भने अहिले पनि निर्वाचन बहिष्कार तथा अवरोधको खतरा रहेकोले समयमै यसको रणनीति बनाउनुपर्ने सुझाव दिएका थिए ।
RSS, IMAGECHANNEL