दमास्कस । सिरियाका विदेशमन्त्री वालिद माउलेमले आफ्ना सेनाले निहत्था सर्वसाधरणमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप अस्वीकार गरेका छन् । अमेरिकाले दमास्कस नजिकको क्षेत्रमा रासायनिक हतियार प्रयोग गरिएको सम्बन्धमा अस्वीकार गर्नै नसकिने प्रमाण फेला परेको बताए लगत्तै माउलेमले आरोप बिल्कुलै भुठो भएको बताएको छ ।
राजधानी दमास्कसमा पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री माउलेमले सिरियामाथि सैन्य आक्रमण गरिए रासायनिक हतियारको बहाना गलत र आधारहीन हुने जिकिर पनि गरे ।
विश्वमा आफ्ना जनतामाथि रासायनिक हतियार प्रयोग गर्ने कुनै पनि मुलक नभएको माउलेमको भनाई थियो । उनले राष्ट्रसंघका हतियार अुनगमनकर्तालाई विद्रोहीले रासायनिक हतियार प्रयोग गरेको भनिएको दोस्रो क्षेत्रमा जान रोकेको दाबी समेत गरेका जनाइएको छ ।
यता, गत बुधवार सिरियाली सेनाको रासायनिक अस्त्र प्रहारबाट ३ सय ५५ भन्दा बढी निहत्था नागरिक मारिएको विश्वास गर्दै अमेरिका र उसका सहयोगीहरु सिरियामा सैन्य आक्रमणको सम्बन्धमा छलफल गरिरहेका छन् ।
Agencies