कुलचन्द्र न्यौपाने, ईकन्तिपुर
काठमाडौ – राजनीति गर्ने उद्देश्य राखेर केही समयअघि सरकारी सेवाबाट राजीनामा दिएका सहसचिव हरिओम श्रीबास्तव कांग्रेस प्रवेश गरेका छन ।
कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमबीच सभापति सुशील कोइरालाले उनलाई पार्टीको साधरण सदस्यता प्रदान गरेका हुन । उनी पार्टी प्रवेश गर्दा गृहजिल्ला रौतहटका कार्यकर्ताको पनि उपस्थिती थियो । श्रीवास्तव सडक विभागका पूर्व महानिर्देशक हुन । इन्जिनियरिङ एशोसियसनको अध्यक्ष समेत रहीसकेका उनले कांग्रेसको शिद्धान्त र विचारबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेको बताए ।
आफ्नो जागिरे कार्यकाल बाँकी छदै उनले राजनीतिमा प्रवेश गर्ने लक्ष्य राखेर राजीनामा दिएका थिए । २०३६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका उनी विद्यार्थी समयमा भने नेविसंघकको राजनीतिमा सक्रिय थिए । त्यसपछि पनि उनी निरन्तर कांग्रेस संग झुकाव राख्दै आएका थिए । पार्टी सभापति कोइरालाले पूर्व सचिव रामेश्वर खनाल र सहसचिव श्रीबास्तवको प्रवेशले कांग्रेसलाई ठुलो उर्जा मिलेको बताए ।
कोइरालाले माओवादीको लक्ष्य अहिलेपनि सत्ता कव्जा रहेको बताउदै त्यसलाई असफल बनाउन अबको निर्वाचनलाई एक भएर जुट्नुपर्ने बताए । ‘हामी एक भयौ भने दुई तिहाई मत कांग्रेसले ल्याउन सक्छ’ कोइरालाले भने,’अब कांग्रेसमा यसको र उसको मान्छे भन्ने छैन । सवै कांग्रेसका हुन । यहि भावनाले निर्वाचनमा तपाईहरु जानुहोस ।’