राष्ट्रपतिले आदेश दिनेवित्तिकै सिरियामाथि आक्रमण गरिने अमेरिकी रक्षा मन्त्री चक हगेलले बताउनुभएको छ । आफूहरु राष्ट्रपति बराक ओबामाको आदेशको प्रतीक्षामा मात्र रहेको हगेलको भनाइ छ । राष्ट्रपति ओबामाले अझै पनि आक्रमणको विकल्प नरोजिसकेको पनि उनले बताएका छन् । उता बेलायतले पनि सिरिया संकटबारे छलफल गर्न संसदको बैठक बोलाएको छ ।
फ्रान्सले पनि अब हस्तक्षेपबाट मात्रै समाधान निस्कने बताएको छ । सिरियाले भने आक्रमण गरिए बचाउका लागि सबै खाले उपाय अपनाइने जनाएको छ । सिरियाली विदेशमन्त्री वालिद माउलेमले आफ्नो सुरक्षाका लागि हरसम्भव उपाय गरिने बताउनुभएको हो । उता रुस र चीनले पनि आक्रमणले त्यस क्षेत्रमा विनाश निम्त्याउने भन्दै कडा विरोध जनाएका छन् ।
सिरियाली विदेशमन्त्री माउलेमले आफ्ना सेनाले निहत्था सर्वसाधारणमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप पनि अस्वीकार गर्नुभयो । अमेरिकाले दमस्कस नजिकको क्षेत्रमा रासायनिक हतियार प्रयोग गरिएको सम्बन्धमा अस्वीकार गर्नै नसकिने प्रमाण फेला परेको बताए लगत्तै माउलेमले आरोपलाई झुठो भन्नुभएको हो ।
राजधानी दमस्कसमा पत्रकारहरुसँग माउलेमले सिरियामाथि सैन्य आक्रमण गरिए रासायनिक हतियारको बहाना गलत र आधारहीन हुने जिकीर पनि गर्नुभयो । गत बुधवार सिरियाली सेनाको रासायनिक अस्त्र प्रहारबाट ३ सय ५५ भन्दा बढी निहत्था नागरिक मारिएको दावी विद्रोहीको छ ।
Agencies