ओबामाद्धारा सिरियाविरुद्ध सैन्य कार्वाही गरिहाल्ने निर्णय भने गरिनसकेको प्रष्ट

सिरिया सरकारले नै गएको हप्ता राजधानी दमस्कसनजिक रासायनिक हतियारबाट आक्रमण गरेको निष्कर्षमा अमेरिका पुगेको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो देश यो निष्कर्षमा पुगेपनि सिरियाविरुद्ध सैन्य कार्वाही गरिहाल्ने निर्णय भने गरिनसकेको प्रष्ट गर्नुभयो । 
एक ताजा अन्तर्वार्तामा ओबामाले रासायनिक हतियारको प्रयोग अमेरिकी हित विपरीत रहेको भन्दै उहाँले यसखालको हर्कतले सिरियाली शासकलाई नै अफ्ठ्यारो पर्ने चेतावनी दिनुभयो । सिरियामाथि कस्तो कार्वाही गर्ने भन्नेमा संयुक्त राष्ट्रसंघमा विवाद चलिरहेका बेला ओबामाले आफ्नो निष्कर्ष सुनाउनुभएको हो ।
 यसैबीच, बेलायतले सुरक्षा परिषदमा सिरियाली नागरिकको सुरक्षाका लागि कार्वाही गर्नुपर्ने प्रस्ताव राखेको छ भने सिरियाको निकट मानिने रुसले भने प्रस्तावप्रति असहमति जनाएको छ । रुसको असहमतिले सिरिया मुद्दामा फेरि ब्यवधान आएको छ भने यसको अमेरिकाले पनि आलोचना गरेको छ । 
राष्ट्रपति बशार अल असादको शासनविरुद्ध २८ महिनादेखि भैरहको आन्दोलनमा एक लाखभन्दा बढी नागरिक मारिइसक्दा पनि कुनै समाधान निस्केको छैन ।
Agencies