मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा अधिकारी दम्पत्तिलाई भेटेर अनशन फिर्ता लिन आग्रह

काठमाडौं  । छोराको हत्यारामाथि कार्वाहीको माग गरेर आमरण अनशनरत नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्तिलाई आज विहान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भेटेर अनशन फिर्ता लिन आग्रह गरेका छन्  । वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिसँग भेट गर्दै उनले छोरा कृष्णप्रसादको हत्यारामाथि कार्वाही गर्न सरकारले प्रक्रिया थालेर अनुसन्धान गरिरहेकाले अनशन फिर्ता लिन आग्रह गरेका थिए । 
 तर अधिकारी दम्पत्तिले हत्यारालाई पक्रेर कस्टडीमा लगेमात्र सरकारको कुरा पत्याउने भन्दै त्यो नभएसम्म आफूले अनशन नतोड्ने प्रष्ट गरे । उनीहरुले आफ्नो लडाई न्यायका लागि भएकाले आश्वासनले केही नहुने बताएका थिए ।
 यसअघि हिजो पनि मूख्य दलका नेतादेखि सरकारका मन्त्रीसमेत अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गर्दै वीर अस्पताल पुगेका थिए । कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधव नेपालले अधिकारी दम्पत्तिलाई भेटेर अनशन तोड्न आग्रह गरेका थिए । तर नेताहरुलाई अधिकारी दम्पत्तिले हत्यारा नपक्रिएसम्म अनशन नतोड्ने जवाफ दिए । 
छोराका हत्यारालाई कारबाही नभए आफूहरु बाँच्नुको कुनै अर्थ नहुने भन्दै अधिकार दम्पत्तिले हत्यारा पक्रन नसक्ने तपाईहरु कस्ता नेता भनेर प्रश्न गरेका थिए । देशमा कानूनको शासन भए छोराका हत्यारालाई हत्कडी लगाउन उनीहरुको माग थियो । तीनै जना नेताले हत्याको अनुसन्धान अगाडि बढेकाले अनशन तोड्न आग्रह गरेका थिए । 
अधिकारी दम्पत्तिको अनशन तोड्न आग्रह गर्दै गृहमन्त्री माधव घिमिरे, गृह सचिव नवीन घिमिरे पनि अस्पताल पुगेका थिए । गृह मन्त्री अस्पताल पुगेर यो आग्रह गदैगर्दा मन्त्रालयले भने विज्ञप्ति निकालेर अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको हत्या अज्ञात व्यक्तिले गरेको जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले अधिकारी अम्पत्तिको जीवन रक्षा गर्न सरकारलाई भनेको छ । आयोगले आमरण अनसनमा रहेका अधिकारी दम्पतिको जीवन रक्षाका लागि अपील गर्दै हत्याका आरोपीहरुमाथि अनुसन्धान हुनेमा पीडित परिवारजनलाई आश्वस्त तुल्याउन सरकारसँग आग्रह गरेको छ ।
RSS,IMAGECHANNEL