कमल थापा, नागरिकन्युज
रुकुम – एकीकृत नेकपा माओवादी रुकुमका कार्याकर्ताले प्रहरीको हतियार खोसेका छन्। चुनावी प्रचारको क्रममा पूर्व राज्यमन्त्री समेत रहेका नेपाली काँग्रेस रुकुमका नेता गोपालजी जंग शाहको नेतृत्वको टोलीको सुरक्षाका लागि खटिएको प्रहरीको साथमा रहेको १ थान पेस्तोल खोसेका हुन।
पश्चिम रुकुमको चौरजहारीबाट चुनावी प्रचार सकेर सदरमुकाम खलंगा आउँदै गर्दा छिवांग गाविसमा एमाओवादी कार्यकर्ताहरुले प्रहरीको पेस्तोल खोसेका हुन्। बुधबार राती हतियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
सुरक्षामा खटिएका प्रहरी जवान चेतलाल सिंह ठकुरीलाई समेत कुटपिट गरि साथमा रहेको पेस्तोल खोसेका हुन। उनीहरुले काँग्रेस नेताहरुलाई आक्रमण गर्न खोजी गरिरहेको थिए। तर नेताहरु सुरक्षित अवस्थामा भएकाले उनीहरुलाई भेट्टाउन सकेनन्। घटनामा माओवादी कार्यकर्ताहरु मनोज के.सी, कर्णबहादुर रोकाय, कमल खड्का, तेज बहादुर ओली लगायतको संलग्नता रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। हतियार खोस्नेहरुको विरुद्ध कार्वाहीको पहल भइरहेको डिएसपी भट्टले जानकारी दिए। घाइते प्रहरीको मुखमा टाँका लगाइएको छ। घटनाको बारेमा एमाओवादी रुकुमले कुनै प्रतिक्रिया दिएको छैन्।