मकर श्रेष्ठ, ईकान्तिपुर
भक्तपुर – आधा समय पढाई हुँदै आएको शुक्रबार पनि अब पुरा समय पढाइ हुने भएको छ । भक्तपुरको बोडेमा भएको जिल्ला शिक्षा अधिकारीहरुको भेलाले यस्तो निर्णय गरेको हो । बुधबार सकिएको भेलाबारे शिक्षा विभागले बिहीबार पत्रकार सम्मेलन उक्त जानकारी दिएको छ ।
चालु शैक्षिक सत्रलाई सिकाई सुधार बर्षका रुपमा मनाउने कार्यक्रम संगै शुक्रबार पनि पुरा समय पढाई हुने निर्णय गरिएको छ ।
यसले सिकाई अवधि बढने विभागले जनाएको छ । सिकाई अधिकारलाई सुनिश्चत गर्न कम्तीमा १ सय ९२ दिन अनिवार्य पठनपाठन र २ सय २० दिन विद्यालय खोल्ने प्रत्याभूति गर्ने भेलाको निष्कर्ष छ । त्यस्तै पाँच बर्षदेखि प्रवेशिका परीक्षामा ८० प्रतिशत भन्दा बढी विद्यार्थी उतिर्ण गराउने ५ सय भन्दा बढी विद्यार्थी भएका नीजि विद्यालयले कम्तीमा २ वटा सामुदायिक विद्यालयमा आफनो अनुभव आदान प्रदान गर्नु पर्ने व्यवस्था गरिएको छ ।
विद्यार्थी कम भएको विद्यालय गाभ्ने, खारेज गर्ने, कक्षा घटाउने नीतिको तयारी छ । विद्यार्थीको अनुपातमा शिक्षक बढी भएको विद्यालयमा दरबन्दी मिलान हुन सकेको थिएन । विद्यालय गाभ्ने नीतिले यसलाई व्यवस्थित गर्ने विभागले जनाएको छ ।