लण्डन । अमेरिकासँग मिलेर सिरियामाथि सैन्य आक्रमण गर्नुपर्ने पक्षमा रहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको प्रस्तावलाई ब्रिटिश संसदले अस्वीकार गरेको छ । ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा हिजो प्रधानमन्त्री क्यामरुनले राखेको उक्त प्रस्तावमा लामो छलफल भएपनि समर्थन मिल्न सकेन ।
प्रस्तावका पक्षमा २ सय ७२ मत मात्र मिल्यो भने विपक्षमा २ सय ८५ मत प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । १३ मतअन्तरले सिरियामाथि सैन्य कारवाहीको प्रस्ताव पारित हुन नसकेको हो ।
आफ्नो प्रस्ताव विफल भएलगत्तै प्रधानमन्त्री क्यामरुनले ब्रिटिश सांसद र जनता सिरियामाथि सैन्य हस्तक्षेप होस् भन्ने पक्षमा नरहेको प्रष्ट भएको प्रतिक्रिया दिएका छन् । यसअघि क्यामरुनले यदी संयुक्त राष्ट्रसंघका जाँचकर्ताले बशार अल असद सरकारले रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला पारेमा सैन्य हस्तक्षेप गर्नुपर्ने प्रस्ताव सदनमा राखेका थिए ।
सिरियामा रासायनिक हतियार कसले प्रयोग गरेको भन्ने प्रष्ट भइनसकेपनि वेलायती जासूसी निकायले भने यसमा सिरियाली शासकको हात रहेको प्रमाण फेला पारेको जानकारी संसदलाई प्रधानमन्त्रीले क्यामरुनले दिएका थिए ।
विपक्षी दलका नेताले भने पूर्ण प्रमाण र सुरक्षा परिषदको निर्णय बिना सैन्य हस्तक्षेपमा सामेल हुन नहुने भन्दै प्रधानमन्त्रीको प्रस्ताव तत्काल मान्न नसकिने बताएका थिए ।