विराटनगर । सरकारले औद्योगिक लगानीमैत्री वातावरणका लागि विशेष आर्थिक क्षेत्र घोषणा गर्ने बताइरहदा पूर्वाञ्चल क्षेत्रका उद्योगहरु धमाधम बन्द हुने क्रम बढेको छ । उर्जा संकट र श्रमिक अभावका कारण पूर्वाञ्चल क्षेत्रका उद्योगहरु बन्द हुँदै गएको मोरङ उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले हालै गरेको एक सर्वेक्षण अनुसार तीन वर्षको अवधिमा यस क्षेत्रमा साना, ठूला तथा मझौला गरी ३ सय ९६ उद्योगहरु पुर्ण रुपमा बन्द हुन पुगेका छन् । बन्द हुने मध्ये साना तथा मझौला उद्योग बढी छन् ।
पूर्वाञ्चल क्षेत्रमा रहेका १८ सय २१ वटा साना, ठूला र मझौला उद्योग मध्ये मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रमा धेरै उद्योग छन् ।
पछिल्लो १ वर्षको अन्तरालमा मात्र यस क्षेत्रमा सवै भन्दा बढी १ सय ५९ वटा उद्योग बन्द भएका छन् । त्यसमध्ये १ सय ७ वटा उद्योग सुनसरी मोरङ करिडोर क्षेत्रमा रहेका उद्योग बन्द भएको संयोजक किशोर प्रधानले हामीलाई जानकारी दिए ।
धमाधम उद्योगहरु बन्द हुने क्रम बढेपनि उद्योग सञ्चालन गर्ने वातावरण बनाउनेतर्फ सरकार मौन रहेको भन्दै उद्योगी व्यवसायीहरुले दुःख व्यक्त गर्दै आएका छन् ।
RSS, IMAGECHANNEL