एमाले अध्यक्ष झलनाथ खनाल इलाम क्षेत्र नं‌‌. १ र विघटीत संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ क्षेत्र नं. २ बाट उम्मेदवार शिफारिस

विप्लव भट्टराई, ईकन्तिपुर

 

इलाम – दोस्रो संविधान सभा निर्वाचनका लागि नेकपा एमालले इलामका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार शिफारिस गरेको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित क्षेत्र नं‌‌. १ बाट पाँच जनाको नाम सिफारिस भएको छ ।

 

विघटीत संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने पक्का भएको छ । क्षेत्रीय समितिबाट पाँच जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि क्षेत्रीय भेलाले नेम्बाङलाई सर्वसम्मतरुपमा सिफारिस गरेको हो । क्षेत्र नं. १ बाट सर्वसम्मत हुन नसकेपछि खनालसहित काजिमान कागते, बीरबहादुर लाप्चा, खिनु लङ्वा, र रत्न अधिकारीको नाम सिफारिसमा परेको छ । सो क्षेत्रबाट खनालको उम्मेदवारी निश्चित भएको एक जिल्ला कमिटी सदस्यले बताए ।


यस्तै क्षेत्र नं. ३ मा पनि सहमति नजुटेपछि महेश बस्नेत, भक्त केसी, टेकवहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारीलाई सिफारिस गरिएको छ । राष्ट्रिय राजनीतिमा सकृय रहेका नेताहरु भएको जिल्लामा चुनावको सरगर्मी बढ्दै गएको छ । अघिल्लो संविधानसभाको निर्वाचनपछि जिल्लाका तीन क्षेत्रवाट निर्वाचितहरु संविधानसभा अवधीभर कुनै न कुनैरुपमा कृयाशिल थिए ।

 

निर्वाचनका लागि दलहरु आफ्नै तयारीमा जुटेका बेला उम्मेदवार सिफारिसको गृहकार्य तीव्र भएको छ । यसअघि संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट नेकपा एमालेकोतर्फबाट विजयी अध्यक्ष झलनाथ खनाल, क्षेत्र नं. २ बाट विजयी एमालेकै सुवास नेम्बाङ र क्षेत्र नं. ३ वाट विजयी नेपाली कांग्रेसका कूलवहादुर गुरुङ उम्मेदवार बन्ने लाइनमा देखिएका हुन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री गुरुङले संविधान सभाको पहिलो बैठकमा जेष्ठ सभासद भएको नाताले गणतन्त्रको घोषणा गरेका थिए । सोही अवधिमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने भने सुवास नेम्बाङ सभाध्यक्ष थिए ।