अस्पतालले सञ्चारकर्मीहरुको उपचारमा ५० प्रतिशत छुट दिने

ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले सञ्चारकर्मीहरुको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ। आइतबार राजधानीमा नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित वार्षिक कार्यक्रममा अल्का अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रकुमार श्रेष्ठ र नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष नबल खड्काबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

 अस्पतालले दिने उक्त सुविधा उपभोग गर्नका लागि सञ्चारकर्मीहरुले नेपाल चलचित्र कलाकार सङ्घको सिफारिस लिनुपर्ने सङ्घका अध्यक्ष खड्काले बताए।   अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले सङ्घमा आबद्ध कलाकारलाई यसअघिदेखि नै स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिँदै यस वर्षदेखि पत्रकारलाई समेत छुटमा सो सेवा दिन लागिएको बताए।   उनले पत्रकारको उपचारमा ५० प्रतिशत र उनीहरुका परिवारजनको हकमा २० प्रतिशत छुट दिनेछौँ भने। 
औषधीमा पनि केही छुटको व्यवस्था गर्न सकिने उनको भनाइ छ। नयाँ कार्यसमितिले स्वास्थ्योपचार शिविर, कलाकारका सन्तानलाई विभिन्न कलेज तथा विद्यालयमा शैक्षिक छात्रवृत्तिको पहल, कलाकार बीमा र कलाकार कल्याण कोष स्थापना, सहकारी स्थापनालगायतका कार्य गरेको अध्यक्ष खड्काले जानकारी दिए। 
– रासस