काठमाडौं – नेपाली कांग्रेसले आगामी संविधानसभा निर्वाचनका लागि उम्मेद्वारको सिफारिस गर्ने काम निर्वाचन क्षेत्रीय समितिले धमाधम गरेको छ । केन्द्रीय कार्यसमितिले तीन जनाको नाम पठाउन निर्देश गरेपनि आकाक्षी धेरै भएका कारण अधिकांश क्षेत्रीय समितिले सवैको नाम सिफारिस गरेका छन् । तीन जनाको नाम मात्रै पठाउन अधिकांश ठाउँमा निर्वाचनै गर्नुपर्ने अवस्था आएको र निर्वाचन गर्दा विवाद बढ्ने देखेर केन्द्रले सवैको नाम सिफारिस गर्न सुझाव दिएको थियो । समानुपातिक तर्फ पनि अधिकांश जिल्लामा पाँच जना भन्दा बढी सिफारिस भएका छन ।
कांग्रेस सभापति सुशील कोइराला पहिला लडिरहेको ठाउँ परिवर्तन गरी नेपालगंज क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेल तनहूँ निर्वाचन क्षेत्र नं २ बाट भएका छन् । पौडेल भने सर्वसम्मत हुन सकेनन् । उनको क्षेत्रमा चारजनालाई सिफारिस गरिएको छ । महामन्त्री प्रकाशमानसिंह काठमाडौं निर्वाचन क्षेत्र १ बाट सर्वसम्मत सिफारिस भएका छन ।
काठमाडौ र ललितपुरका अधिकांश निर्वाचन क्षेत्रले सिफारिस सकिसकेका छन् । केही निर्वाचन क्षेत्रमा विवाद छ । औपचारिक तहमा काठमाडौले मंगलबारसम्म जिल्लालाई पठाउने तयारी गरेको छ । काठमाडौ निर्वाचन क्षेत्र नं १ बाट महामन्त्री सिंह प्रत्यक्षमा सिफारिस भएका छन् भने समानुपातिकमा हिरालाल तण्डुकार, हरिवोल भट्टराई, कल्याणी रिजाल, मोहन राई र अम्बिका सुवेदी सिफारिसमा परेका छन् ।
क्षेत्र नं २ बाट प्रत्यक्षमा उपेन्द्र कार्की, लोकश ढकाल, दीपक कुइँकेल सिफारिसमा परेका छन । क्षेत्र नं ४ मा गगनकुमार थापा, चिरञ्जीवीनिधि तिवारी, न्यूछेमान श्रेष्ठलाई प्रत्यक्षमा सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं ५ बाट नरहरी आचार्य, रमेश खड्का, श्यामवहादुर खडका, क्षेत्र ६ बाट सुवुव बाँनिया, भिमसेनदास प्रधान, ईन्द्रमान महर्जन, क्षेत्र नं ८ बाट मोहनवहादुर बस्नेत, नविन्द्रराज जोशी र कृण्ण आमात्य सिफारिसमा परेका छन । निर्वाचन क्षेत्र नं ८ मा समानुपातिकको पनि टुंगो लगाइएको छ । जसमा देवरत्न डंगोल, विजयराज तुलाधार, नविन चित्रकार, लक्ष्मणवहादुर केसी, राज्यलक्ष्मी श्रेष्ठ परेका छन् । प्रत्यक्षमा नै क्षेत्र नं ९ बाट ध्यानगोविन्द रन्जीत, धर्मराज गौतम र तिर्थराम डंगोललाई सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १० मा राजन केसी, राजकुमार नकर्मी र धनश्याम गिरी छन् । औपचारिक रुपमा जिल्लामा पठाइनसकेका कारण केही नाममा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारबीच परिवर्तन हुन सक्ने बताइएको छ ।
यस्तै ललितपुर निर्वाच क्षेत्र नं १ बाट मथुरा घिमिरे, मीनकृष्ण महर्जन, केवलवहादुर लामासहित १२ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । समानुपातिकमा दश जनाको नाम सिफारिस भएको छ । त्यस्तै निर्वाचन क्षेत्र २ बाट रामकृष्ण ताम्राकार, जगतराज शाक्य र चन्द्र महर्जनको नाम प्रत्यक्षमा सिफारिस गरिएको छ । समानुपातिकमा रुद्र शर्मा, गणेश सिलवाल, केदारवहादुर अमात्य, पवन थापा, सरिन्दा महर्जनको नाम सफारिस छ । निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले सोमबार सिफारिस गर्ने तयारी गरेको छ ।
Ekantipur