एकीकृत माओवादीले गोरखाका अधिकारीको हत्याको अनुसन्धान नरोकिए द्वन्द्वकालका हजारौं मुद्दा उठाएर आन्दोलन गर्ने चेतावनी

एकीकृत माओवादीले गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्याको प्रहरी अनुसन्धान नरोकिए द्वन्दकालका अन्य हजारौं मुद्दा उठाएर आन्दोलन गर्ने चेतावनी दिएको छ।


सत्यनिरुपण आयोग चाँडो गठन गरेर सबै सशस्त्र द्वन्दकालका मुद्दाहरुमाथि अनुसन्धान गर्न सरकारलाई दवाव दिने निर्णय सोमबार सकिएको उक्त दलको केन्द्रीय समिति बैठकले गरेको एक नेताले बताए।


अधिकारकर्मीहरुले माओवादीले कानुन सम्मत प्रकिया अवरुद्ध पार्न खोजेको भन्दै विरोध गरेका छन्।

 

चुनावको मिति तोकिएको समयमा द्वन्दकालको एउटा मुद्दालाई लिएर पार्टीका कार्यकर्ता माथि प्रहरी अनुसन्धान भैरहँदा त्यसलाई पार्टी नेतृत्वले रोक्न नसकेको भन्दै केन्द्रिय सदस्यहरुले बैठकमा रोष व्यक्त गरेको एक नेताले बताए।


पूर्व स्थायी समिति सदस्य टोपबहादुर रायमाझीका अनुसार एउटा मात्र मुद्दाको अनुसन्धान नगर्न सरकारलाई आग्रह गर्ने र त्यसो नगरीए प्रतिरोध गर्ने निर्णय लिइएको छ।