काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले आफ्ना छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै डेढ महिनादेखि आमरण अनशनमा बसेका अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति नाजुक बनेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सशस्त्र द्वन्द्वका समयमा मारिएका छोराको हत्याका दोषीलाई कार्वाही गर्न माग गर्ने अधिकारी दम्पत्तिसहित अरु थुप्रै मुद्दाहरुको तत्काल, स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गरी पीडितलाई न्याय र दोषीलाई न्यायको कठघरामा उभ्याउन उच्चायोगले नेपाल सरकारसहित उच्च अधिकारीहरुलाई भनेको छ ।
राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका प्रवक्ता रुपर्ट कोलभिल्लेले विज्ञप्ति जारी गर्दै घटनाको दोषी सबैलाई नेपाली र अन्तर्राष्ट्रिय कानून अनुसार कार्वाही चलाउन र पीडितलाई परिपूरणको व्यवस्था गर्न भन्नुभएको हो ।
मानवअधिकारका अन्तर्राष्ट्रिय प्रावधानहरुको नेपाल पक्ष राष्ट्र रहेको सम्झाउँदै कोलभिल्लेले मानवअधिकार उल्लंघनका सबै घटनाको अनुसन्धान गरी न्यायिक प्रक्रिया अगाडि बढाएर पीडितको परिवारलाई न्याय सुनिश्चित गर्नु नेपाल राज्यको दायित्व हो भन्नुभएको छ ।
नौ वर्ष अगाडि मारिएका छोराको हत्यारालाई कार्वाही माग गर्दै भोक हड्ताल गरेपछि प्रहरीले अनुसन्धान थालेकामा भने उच्चायोगले स्वागत गरेको छ । तर देखिने गरी कार्वाही नहुँदासम्म अनशन तोडन अधिकारी दम्पत्तिले नमानेपछि उहाँहरुको स्वास्थस्थिति बिग्रेकामा आयोगले चिन्ता व्यक्त गरेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पीडितहरुले वर्षौ प्रतीक्षा गरेको भन्दै उच्चायोगले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उक्त आयोग तत्काल बनाउन पनि भनेको छ ।
राजनीतिक दलहरुले विगतमा गरिएका आफ्ना प्रतिवद्धताहरु कार्यान्वयन नगर्दा नेपालमा शान्ति स्थापना हुन नसकेको भन्दै पीडितहरु निराश भई अधिकारी दम्पत्तिले जस्तै बाटो समात्नु परेको पनि उच्चायोगले जनाएको छ । यसअघि अधिकारी दम्पत्तिको जीवन रक्षाका लागि नेपाल सरकारलाई दबाब दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरमा अपील गरेका थिए ।
सर्वत्रबाट दबाब दिँदा पनि कृष्णप्रसाद हत्या प्रकरणको छानविन र अधिकारी दम्पतिको जीवन रक्षाका लागि नेपाल सरकारले ठोस पहल नगरेको भन्दै एम्नेष्टी र ह्युमन राइट्स वाचले ओएचसीएचआरको ध्यानाकर्षण गराएका थिए ।
RSS, IMAGECHANNEL