विश्व आर्थिक फोरमद्धारा विश्व प्रतिस्पर्धात्मक क्षमतामा नेपालले केहि प्रगती गरेको प्रतिवेदन सार्वजनिक, १ सय १७ औं स्थानमा

काठमाडौं । विश्व आर्थिक फोरमले विश्व प्रतिस्पर्धात्मक क्षमतामा नेपालले केहि प्रगती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । फोरमले बुधबार विश्वभर एकैपटक सार्वजनिक गरेको विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन २०१३-१४ मा १ सय ४८ मुलुक मध्ये नेपाल १ सय १७ औं स्थानमा उक्लिएको देखाइएको हो । गत वर्ष नेपाल १ सय २५ औं स्थानमा थियो ।


फोरमको प्रतिवेदन बुधबार नेपालमा सार्वजनिक गर्दै सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एण्ड एडमिनिष्ट्रेसन (सेडा) ले गत वर्षको तुलनामा केहि सुधार देखिएपनि उल्लेख्य प्रगती हुन नसकेको जनाएको छ । प्रतिवेदन २०१३-१४ का नेपाल संयोजक प्रा. डा. रमेशचन्द्र चित्रकारले सुक्ष्म आर्थिक वातावरण र स्वास्थ्य तथा प्राथमिक शिक्षामा बाहेक अरु क्षेत्रमा प्रगती हुन नसकेको बताए ।


यसैको आधारमा नेपाल १ सय १७ औं स्थानमा उक्लिन सफल भएको हो । फोरमले विभिन्न १२ वटा क्षेत्रलाई आधार मानेर प्रतिवेदन सार्वजनिक गरेको हो । यस पटक पनि विश्व प्रतिस्पर्धात्मक क्षेमतामा स्विटजरल्याण्ड पहिलो स्थानमा रहन सफल भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगापुर र फिनल्याण्ड रहेका छन् । दक्षिण एशियाली राष्ट्रमध्ये भारत ६० औं स्थानमा छ भने श्रीलंका ६५ औं स्थान छ ।


यस्तै पाकिस्तान १ सय ३३ औं स्थानमा छ भने बंगलादेश १ सय १० औं स्थानमा रहेको छ । यस वर्षदेखि मात्रै विश्व प्रतिस्पर्धी अनुसन्धानमा आएको भूटान नेपाल भन्दा अगाडि १ सय ९ औं स्थानमा रहेको छ ।


प्रतिवेदनले नेपाली जनताले राजनीतिज्ञलाई सबैभन्दा बढि अविश्वास गरेको जनाएको छ । राजनीतिज्ञलाई विश्वास गर्ने मुलुकमा नेपाल १ सय ४२ औं स्थानमा परेको छ । यस्तै सरकारी अस्थिरता घटेको देखिए पनि भ्रष्टाचार झन् बढेको प्रतिवेदनमा भनिएको छ ।


RSS, IMAGECHANNEL