काठमाडौं – मानव अधिकारवादीहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भटटराईले ‘सकेदेखि समातेर देखाउ’ भन्दै धम्की दिएकोमा गम्भिर आपत्ती प्रकट गरेका छन्। उनीहरुले माओवादीको नेताहरुले दिएको अभिव्यक्तिले राजनीतिको अपराधीकरणलाई प्रश्रय दिएको बताएका छन्।
‘अपराधको राजनीतिकरणलाई प्रश्रय दिई दण्डहीनताको अवस्थालाई थप जटिलतातर्फ धकेल्न नियोजित ढंगबाट व्यक्त भएको हो,’ अधिकारकर्मीहरु सुशील प्याकुरेल, मन्दिरा शर्मा, कनकमणि दीक्षित, चरण प्रसाई, सुवोध प्याकुरेल, टिकाराम भट्टराई, प्रा. कपिल श्रेष्ठ, दिनेश त्रिपाठी, जनक राउत, सुमन अधिकारी, सावित्रि श्रेष्ठ, चिरञ्जीवि वासकोटी, सितु जोशी (घिमिरे,फणिन्द्र लुइटेल, चन्द्र कान्त ज्ञवाली, बामदेव ज्ञवाली, रवि खनाल, ओम प्रकाश अर्याल, राजु चापागाँइ, सरोज कृष्ण घिमिरे, श्याम नारायण श्रेष्ठ, पिताम्वर सिलवाल, देवेन्द्र प्रसाद मैनाली र रमेश कुमार रोकाले यसको विरोध गरेका हुन्।
उनीहरुले सामुहिक वक्तव्यमार्फत भनेका छन्, ‘सशस्त्र संघर्षमा कुनै सहभागिता नभएका सामान्य नागरिकको हत्या जस्तो गम्भीर अपराधका सम्बन्धमा प्रचलित कानुन अनुरुप अगाडि बढेको अनुसन्धान तहकीकात प्रकृयालाई अवरुद्ध पार्ने, फौजदारी अनुसन्धानको न्युनतम दायित्व निर्वाह गर्नबाट सम्बिन्धत निकाय तथा पदाधिकारीहरुलाई विचलित पार्ने, पीडितहरुलाई न्याय खोज्न हतोत्साहित गर्ने एवं अन्तराष्ट्रिय जगतलाई नेपाल भित्र न्यायको सम्भावना टुंगिदै गएको सन्देश प्रवाह गर्ने गरि सार्वजनिक भएका उक्त गैर जिम्वेवार अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछौ।’ – नागरिक