काठमाडौं । नेकपा एमाले उपत्यका पेशागत बुद्धिजिवी विशेष कमिटीले नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक मात्र हुने व्यवस्था गर्न माउ पार्टी एमालेलाई सुझाव दिएको छ ।
पार्टीको घोषणापत्रमा समेट्नुपर्ने विषयबारे आज पार्टी मूख्यालय बल्खुमा महासचिव ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पेशागत बुद्धिजिवी विशेष कमिटीले मन्त्री हुन सांसद नै हुनुपर्ने ब्यवस्थाको साटो विज्ञहरु मध्येबाट मन्त्री बनाउनुपर्ने र सांसद नै मन्त्री बनेको अवस्थामा उसले सांसदको पदबाट राजीनामा दिनुपर्ने सुझाव पनि दिएको छ ।
त्यसक्रममा महासचिव पोखरेलले विभिन्न क्षेत्रबाट प्राप्त सुझावको आधारमा चुनावी घोषणापत्रलाई अन्तिम रुप दिइने हामीलाई बताए ।
ज्ञापनपत्रमा घुम्ती शिक्षा शिविर, सहकारी नीतिमा उत्पादन, बजार र व्यवस्थापनको तीन खम्बे नीति हुनुपर्ने लगायत शिक्षा, स्वास्थ्य, अर्थ, पर्यटन लगायतका १६ वटा विषयमा सुझाव दिइएको छ ।
एमालेले चुनावी घोषणापत्रमा समेट्ने विषयबारे सुझाव संकलनका लागि पार्टीका विभिन्न निकायहरुलाई निर्देशन दिएको छ । घोषणापत्रका लागि सुझाव संकलन गर्ने कार्य जारी छ ।
RSS, IMAGECHANNEL