विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मोहन वैद्य समूहलाई पाखा लगाएर गरिने संविधानसभाको चुनावले सार्थक परिणाम नदिने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा निर्वाचनबाट नै मुलुकमा गणतन्त्र वा राजतन्त्रको सम्बन्धमा छिनोफानो हुने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै थापाले चुनाव मार्फत संविधान निर्माण गर्नका सबै दलको सहभागिता आवश्यक पर्नेमा जोड दिए ।
नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई चुनावमा भाग लिने वातावारण बनाउन राष्ट्रपतिले भूमिका खेल्नुपर्ने धारणा थापाले राखे ।
थापाले चार राजनीतिक शक्तिकै कारण मुलुकमा राष्ट्रियता सङ्कटमा पर्नाका साथै साम्प्रदायिक सद्भाव खल्बलिएको आरोप लगाए। अध्यक्ष थापा पार्टीको मोरङ, झापा र सुनसरीमा हुने आमसभाका लागि आज यहाँ आएका हुन्। रासस