काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा मंसिर ४ गतेका लागि तय भएको संविधानसभा चुनावको मिति सार्न नसकिने बताएका छन् । आज पार्टी मूख्यालय बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि हामीसँग कुरा गर्दे खनालले चुनावको प्राविधिक तयारी पूरा भइसकेकोले मिति सार्नै नसकिने स्पष्ट पारे ।
खनालले जनता मंसिर चारमै चुनाव हुनेमा आशावादी भइसकेको भन्दै उनीहरुलाई निराश बनाउन नसकिने बताए ।
कानूनी तथा नीतिगत तयारी भइसकेको अवस्थामा चुनाव सार्दा जनतालाई धोका हुने उनको भनाई थियो ।
उता, एमाले सम्वद्ध युवाहरुको संगठन युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि चितवनमा सुरु भएको छ । आन्तरिक विवाद साम्य भएको दाबी गर्दै युवा संघले चुनावको तयारीका लागि भन्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो ।
राष्ट्रिय भेलामा युवा संघका साढे ७ सय भन्दा वढी प्रतिनिधि सहभागी छन् । भेलाबाट फेरि युथफोर्स गठन गरिने वताइएको छ ।
भेलाको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष खनालले मंसिर ४ गतेका लागि तय भएको चुनाव सार्न नसकिने बताए । खनालले एकीकृत माओवादीले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए ।
सोही कार्यक्रममा एमाले नेता केपी शर्मा ओलीले अघिल्लो चुनावमा जस्तै अब एकीकृत माओवादीको दबदबा नचल्ने उल्लेख गरे । वाइसीएलले अराजकता सिजना गर्न खोजे युथफोर्सले उनीहरुको सामना गर्ने ओलीको भनाई थियो ।
यसैबीच, युवा संघका अध्यक्ष महेश बस्नेतले निर्वाचन सुरक्षाका लागि युवाहरुको मोबाईल फोर्स गठन गरिने बताएका छन् । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा निर्वाचन गर्न युवाहरुको मोबाइल फोर्स गठन गर्न लागिएको दाबी गरे ।
RSS, IMAGECHANNEL