यो सम्झौता पूरा गर्न नसके सिरियाले संयुक्त राष्ट्रसंघको नाकाबन्दी सामना गर्नुपर्ने वा सैन्य कारवाही मार्फत सिरियालाई सहमति लागू गर्न बाध्य पारिने छ । आफ्ना रुसी समकक्षी सर्गेइ लाभारोभसँंगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री केरीले सिरियाका राष्ट्रपति बशार अल असादको सरकारलाई आफूले गरेको सार्वजनिक प्रतिबद्धता पूरा गर्न पनि आग्रह गरे ।
दुवै मुलुकका विदेशमन्त्रीहरुले सिरियाले सहमति पालना गर्न नसके राष्ट्रसंघको चार्टर अनुसार बल प्रयोग गर्न प्रस्ताव पेश गर्न सकिने पनि स्पष्ट पारेका छन् । यसमा सैन्य कारवाहीको विकल्प पनि राखिएको छ ।
यता, सिरियाका विद्रोहरुले भने रुसी पहलमा भएको सहमति समय कटाउने मेलो मात्रै भएको भन्दै विरोध जनाएका छन् । सिरियामा सैन्य कारवाहीका लागि अमेरिकाको पक्षमा उभिएको फ्रान्सले भने जेनेभा सहमतिको स्वागत गरेको छ ।
अमेरिकाले अगष्ट २१ तारिखमा दमस्कस आसपासको क्षेत्रमा असादका सेनाले रासायनिक हतियार आक्रमण गरि १४ सय २९ जना सर्वसाधरणको हत्या गरेको दाबी गर्दै आएको छ । तर, सिरियाले आरोप अस्वीकार गरेपछि अमेरिकाले सिरियामाथि सैनिक कारवाही गर्ने तयारी गरेको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आक्रमणका लागि मुलुकभित्र र बाहिर पर्याप्त समर्थन नमिलेपछि अमेरिकी कंग्रेसमा हुने भनिएको मतदान पनि स्थगित भएको छ ।