दोस्रो संविधानसभाको निर्वाचनका लागि रुकुमका एकैघरका राष्ट्रिय जनमोर्चा र एमालेबाट ३ जना उमेदवार सिफारिस

कमल थापा

 

रुकुम – दोस्रो संविधानसभाको निर्वाचनका लागि  रुकुमका एकैघरका ३ जना उमेदवार सिफारिसमा परेका छन्। दाजु भाउजु राष्ट्रिय जनमोर्चाबाट उमेद्‍वार सिफारिसमा परेका छन् भने भाइ नेकपा एमालेबाट उमेद्‍वारको सिफारिसमा परेका छन्।

रुकुम बाँफिकोट ६ काँडाका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका रामप्रकाश पुरी र उनकी पत्नी विष्णु ओली पुरी दम्पती उमेद्‍वारको सिफारिसमा परेका छन्। त्यस्तै सहोदर भाइ ठगेन्द्रप्रकाश पुरी नेकपा एमालेबाट उमेद्‍वार सिफारिस परेका छन्। रामप्रकाश भक्तपुरबाट समानुपातिक, पत्नी रुकुमबाट समानुपातिक सिफारिसमा परेका छन्। त्यस्तै भाइ ठगेन्द्रप्रकाश नेकपा एमाले रुकुम क्षेत्र नं. २ बाट प्रत्यक्षको उमेदवारको सिफारिसमा परेका छन्।

रामप्रकाश राइला हुन भने, ठगेन्द्रप्रकाश कान्छा भाइ हुन्। यी दाजुभाइको राजानीतिक विचार भने विद्यार्थी कालदेखि नै फरक थियो। रामप्रकाश मोहन विक्रम सिंहका विश्वास पात्र हुन। उनी साहित्यकार पनि हुन। उनले दर्जन जति साहित्यक कृतिहरु प्रकाशित गरिसकेका छन्। एमालेबाट सिफारिस ठगेन्द्रप्रकाश जिविसका पूर्व निर्वाचित उपसभापति हुन।