काठमाडौं १ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगले कामदार विदेश पठाएको र जाली राहदानीवाहकसँग घूस मागेको अभियोगमा अध्यागमन कार्यालयका पाँच कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले अध्यागमनका अनुसन्धान अधिकृत देवर्षी सापकोटा, शाखा अधिकृत सूर्य दाहाल, नासु प्रदिप लामिछाने, विश्वराज खरेल र कार्यालय सहयोगी जननारायण नापितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूले विदेशबाट फर्केका उपेन्द्र सहनी र वीरेन्द्र मण्डलसँग प्रतिव्यक्ति १५ हजारका दरले ३० हजार रुपैयाँ घूस लिएर जाली राहदानी प्रयोगको मुद्दा मिलाइदिएका थिए ।
नक्कली कागजातका आधारमा मलेसिया कामदार पठाएको आरोपमा इनर्जी ओभरसिजका मेघराज खनाल, जीवन थापा, युगलकिशोर झालाई अख्तियारले पक्रेको छ । ओसियन नेटवर्कका श्रीबकस खत्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
भक्तपुर नापी कार्यालयका अमिन डोलेन्द्र काफ्लेलाई सेवाग्राहीसँग दुई हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कान्तिपुर