अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिने बताएका छन् । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका प्रतिनिधिसँगको भेटमा रेग्मीले राजीनामा नदिने बताएका हुन् ।
काठमाडौं । उच्चस्तरीय राजनीतिक संमितिका रहेका चार दलका शीर्ष नेताले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी निर्वाचन तयारी तीब्र पार्न आग्रह गरेका छन् ।
नेकपा-माओवादीलाई मंसिर ४ को चुनावमा सहभागी गराउने वार्ता विफल भएपछि चार दलका नेताले कुनै पनि हालतमा निर्धारित मितिमै चुनाव गराउने बन्दोबस्ति मिलाउन सरकारलाई आग्रह गरेका हुन् ।
उच्चस्तरीय समितिले मधेशी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसंगको सहमति अनु्सार संविधानसभा सदस्य संख्या ६ सय १ बनाउन संविधान संशोधनका लागि पक्रिया अगाडी बढाउन पनि सरकारलाई आग्रह गरेको छ ।
गोलमेच सम्मेलन, सरकार बिस्तार, उच्चस्तरीय समिति खारेज गर्न तयार बन्दा पनि माओवादी निर्वाचनमा आउन तयार नभएकोले अब निर्वांचन तयारी तीब्र पार्नुको विकल्प नभएको नेताहरुले बताएका छन् ।
नेकपा माओवादीले अध्यक्ष रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गर्नुपर्ने र निर्वाचन पछि सार्नुपर्ने अडान लिदै चार दलका नेताहरुसंगको वार्ता हिजो भंग गरेको थियो । अध्यक्ष रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गर्नु भन्दा आफु सरकार नै छाड्न तयार रहेको चार दलका नेताहरुलाई बताएका छन् ।
रेग्मीले सरकार छाड्दा चुनाव झन् अनिश्चित हुने भएकाले नेकपा-माओवादी नआए पनि चुनाव नरोक्ने निष्कर्षमा चार दल पुगेका बताईएको छ । अध्यक्ष रेग्मीले पनि निर्धारित मितिमै चुनाव गराउन सरकारले तयारी तीब्र पार्ने बताएका छन् ।
– समाचार स्रोत: नेपाली अन्लाईन संचारमाध्यम