काठमाडौं । नेकपा-माओवादीसँग सहमति नहुने भएपछी नेपाली कांग्रेसले मंसिर ४ गते हुने संविधान सभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ ।
आज भोलीमै संसदीय बोर्ड गठन गरेर उम्मेदवार चयन प्रक्रिया थालिने प्रचार प्रमुख डा.मिनेन्द्र रिजालले जानकारी दिए । उनले आजसम्म वार्ताका लागि व्यस्त भएपनि अब वार्ताको सम्भावना टर्दै गएकाले पार्टीका शीर्ष नेताहरुबीच संसदीय बोर्ड गठनका लागि लागेको तयारी शुरु हुने जानकारी दिए ।
कांग्रेसले केन्द्रीय समितिको बैठकबाट मापदण्ड बनाएर मात्र टिकट दिने प्रक्रिया थाल्ने उनको भनाइ छ । पार्टीले प्रत्येक क्षेत्रबाट समानुपातिकका लागि ५ र प्रत्यक्षका लागि ३ जनाको दरले उम्मेदवार सिफारीस गर्न भनिए पनि सबै क्षेत्रबाट गरी झण्डै चार हजार जनाको नाम सिफारिश आएको जानकारी दिए ।
क्षेत्र र जिल्लाबाट सिफारिशमा परेकाहरु टिकट माग्नका लागि शीर्ष नेताहरुको घर धाउने गरेका छन् । पार्टी कार्यालय तथा नेताहरुको घरमा उम्मेदवारहरुको भीड लाग्न थालेपछि कांग्रेस केन्द्रीय कार्यालयले सबैलाई क्षेत्रमा फर्केर प्रचारमा लाग्न निर्देशन दिएको छ ।
स्रोत : नेपाली संचारमाध्यम