काठमाडौ – भोकमरी र कुपोषण क्षेत्रमा काम गर्ने एएफसी इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा ५ वर्ष मुनिका ६ लाख १६ हजार बालबालिका कुपोषण ग्रस्त भएको जनाएको छ । तिनको उपचारमा प्रति बालबालिका २२ अमेरिकी डलर (करिब २ हजार २ सय रुपैयाँ) खर्च गरे पुग्ने उसले उल्लेख गरेको छ ।
राजधानीमा एक कार्यक्रम आयोजना गरी एएफसीका ‘कन्ट्री डाइरेक्टर’ रोनाल्ड वान हउरमिरेनले उक्त कुरा बताएका हुन् । ‘हाम्रो डेढ वर्षको अनुभवका आधारमा भन्नुपर्दा प्रति बालबालिका २२ अमेरिकी डलर खर्च गरे कुपोषणग्रस्त बालबालिकाको उपचार गरी उनीहरूको ज्यान जोगाउन सकिन्छ,’ उनले भने । उनका अनुसार उक्त संस्थाले १५ महिनामा कुपोषणले ग्रस्त सप्तरीका ३ हजार २ सय ८१ बालबालिकाको ज्यान जोगाएको छ ।
उनले कुपोषणलाई ‘स्क्यान्डल’ को संज्ञा दिँदै त्यसलाई पहिचान गरी उपचार गर्न सकिने बताए । कार्यक्रममा सहभागीले नेपालमा पर्याप्त खाद्यान्न हुँदाहुँदै पनि पोषणसम्बन्धी जानकारी नहुँदा र खानपिनसम्बन्धी आनीबानीका कारण धेरै बालबालिका कुपोषणले ग्रस्त भएको बताए । ekantipur