अर्जुन सुवेदी
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबारदेखि ५ वटै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। सरकारी निकायमा हुने भ्रष्टाचारजन्य गतिविधी, अनियमितता, ढिलासुस्ती तथा अनिर्णय लगातका विषयमा अनुसन्धान गर्न र कारवाही प्रक्रिया बढाउन आयोगले पूर्वान्चलको धनकुटा, मध्यमान्चल क्षेत्रको हेडौंडा, पश्चिमान्चल क्षेत्रको पोखरा, मध्यपश्चिमान्चल क्षेत्रको सुर्खेत र सुदुरपश्चिमान्चल क्षेत्रको दिपायलमा कार्यालय खोलेको हो।
‘देशभर हुने भ्रष्टाचारको अनुसन्धान र कारवाहीमा सहजता होओस् भनेर क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएका छौं,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले भने, ‘ती सबै कार्यालयमा सहसचिव तहका कार्यालय प्रमुखहरु समेत खटाइसकिएको छ।’
आयोगका अनुसार पूर्वान्चल क्षेत्रीय कार्यालयको प्रमुखमा हरिराज पन्त, मध्यमान्चलमा विश्वनाथ ढकाल, पश्चिममान्चलमा दुर्गाप्रसाद पोखरेल, मध्यपश्चिमान्चलको मुकुन्दराज पन्थी र सुदूरपश्चिममा विष्णुसिंह विष्टलाई खटाइएको छ। झण्डै महिनादिन पहिलेको मन्त्रीपरिषद बैठकले आयोगलाई क्षेत्रीय कार्यालय खोल्न स्विकृती दिएको थियो।
आयोग प्रवक्ता सापकोटाका अनुसार क्षेत्रीय कार्यालयहरुले त्यस क्षेत्रका सरकारी निकाय तथा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानमा हुने भ्रष्टाचारजन्य क्रियाकलाप, अनियमितता, ढिलासुस्ती, अनिर्णय जस्ता विषयमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउनेछ। आयोगले सम्वन्धित क्षेत्रका नागरिक समाज, सेवाग्राही, सन्चार माध्यम तथा आम जनसमुदायलाई भ्रष्टाचारजन्य सुचना, जानकारी, उपलव्ध गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग गरिदिन अपिलसमेत गरेको छ।