न्यूर्योक । अमेरिकामा गरिबको संख्या झन् बढेको छ । पछिल्लो जनगणना विवरण अनुसार गरिबको संख्या बढेर ४ करोड ६५ लाख पुगेको छ ।
यो संख्या सन् २०११ मा ४ करोड ६२ लाख रहेको थियो । यही ढंगबाट गरिबीको दरमा परिवर्तन नभएमा यो १५ प्रतिशतकै दरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकामा लगातार छैटौं वर्षसम्म पनि गरिबीको दरमा कुनै कमी आउन सकेको छैन । गत वर्ष वार्षिक २३ हजार ४ सय ९२ डलर भन्दा कम आय भएका परिवारलाई गरिबीको रेखामुनि राखिएको थियो ।
केही विश्लेषकहरुले गरिबीमा कमी नआउनुमा रोजगारीको अवसर र सामाजिक सुरक्षा सेवाहरुमा सुधार नहुनु नै जिम्मेवार रहेको बताएका छन् ।
सन् २००९ को आर्थिक मन्दीबाट भने अमेरिका पार भइसकेको छ । मन्दीपछि निजी क्षेत्रमा नयाँ रोजगारीको सिर्जना भएपनि पारिश्रमिक भने निकै कम रहेको जनाइएको छ ।
अमेरिकामा प्रत्येक परिवारको औसत वार्षिक आय ५१ हजार १७ डलर रहेको छ । समाजशास्त्रीहरुले गरिबीको तथ्यांक निराशाजनक भएको बताएका छन् ।
– Agencies