काठमाडौं । सरकारले मंसिर ४ गतेको संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मन्त्रिपरिषदको बैठकले चुनावको तिथिमा प्रभाव नपर्ने गरी प्रत्यक्षको मनोनयन दर्ता र समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पूर्व निर्धारित दिनलाई पर सार्न आयोगलाई आग्रह गरेको हो ।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि पेश गर्न यही आश्विन ७ गते र प्रत्यक्षतर्फको मनोनयनका लागि ९ र १० गतेको दिन तोकेको छ ।
मन्त्रिपरिषदको वैठकअघि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले केही मन्त्रीहरुसहित आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागेका माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता दिनलाई प्रभावित गर्नेगरी आश्विन ९ र १० गते नेपाल बन्दको आह्वान गरेको छ ।
यसैबीच, सरकारको आग्रहपछि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति बढीमा एक सातासम्म पर सार्न सकिने संकेत गरेको छ ।
RS,, IMAGECHANNEL