सिरिया । सिरियाली राष्ट्रपति बशार अल असदले आफ्नो देशमा रहेको रासायनिक हतियार नष्ट गर्न आफूलाई एक वर्ष समय दिनुपर्ने माग गरेका छन् । हतियार नष्ट गर्ने प्रक्रिया लामो, झञ्झटिलो र निकै खर्चिलो हुने भएकाले यसका लागि एक वर्षभन्दा अझै बढी समय लाग्न सक्ने उनले प्रष्ट गरेका छन् । यो जटिल प्राविधिक विषय भएकाले करिब एक बिलियन डलर खर्च लाग्न सक्ने अनुमान पनि असदले गरे ।
फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा असदले २१ अगष्टमा राजधानी नजिक गरिएको रासायनिक हतियार आक्रमण आफ्नो सेनाले नगरेको जिकीर गर्न उनले छुटाएनन् । अमेरिका र रुसबीच सन् २०१४ को मध्यसम्ममा हतियार नष्ट गरिसक्नुपर्ने सहमति भएकोमा असदले यस्तो टिप्पणी गरेका हुन् ।
असदविरुद्ध संघर्षरत विपक्षी र अमेरिकासहितका पश्चिमा राष्ट्रहरु सिरिया सरकारले विपक्षीविरुद्ध रासायनिक हतियार प्रयोग गरेकाले सेन्य हस्तक्षेप गर्नुपर्ने पक्षमा छन् भने रुस र चीन यस प्रस्तावको विपक्षमा छन् । यसै विवादका बीच अमेरिका र रुसले सिरियासँग रहेको सबै रासायनिक हतियार आगामी वर्षको मध्यसम्ममा नष्ट गरिसक्नुपर्ने बीचको बाटो खोजेर तत्कालका लागि मध्यमार्ग खोजेका हुन् ।