एमाले विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा

काठमाडौं – नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि बिहीबारदेखि राजधानीमा २१ औं राष्ट्रिय महाधिवेशन भएको छ। गुटबन्दीलगायतका कारण समस्या देखिएपछि झन्डै छ महिना ढिलो गरी महाधिवेशन शुरु भएको हो। विधान सम्मेलन भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा मात्र केन्दि्रत हुने आयोजक समितिका सयोजक माधव ढुंगेलले जानकारी दिए ।


एमाले अध्यक्ष झलनाथ खनालले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा महाधिवेशन उद्‌घाटन गरेका छन । बन्द सत्र कमलादीस्थित प्रज्ञा भवनमा हुने सम्मेलनमा झन्डै १ हजार ५ सय प्रतिनिधि सहभागी भएका ढुंगेलले जानकारी दिए ।


नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । बुधबारसम्म अध्यक्षका लागि चार जना आक‌ांक्षी देखिएका छन् । पार्टीका शीर्ष नेताहरूको लाइन समात्दै निवर्तमान कार्यसमितिका तीन उपाध्यक्ष र महासचिवले नेतृत्वमा दाबी गरेका हुन् । अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको लाइन समात्दै निवर्तमान उपाध्यक्ष नविना लामा र लक्ष्मण लम्सालले अध्यक्षमा लड्ने घोषणा गरेका छन् । वरिष्ठ नेता माधव नेपाल र केपी ओलीको लाइन समात्दै निवर्तमान महासचिव किशोरविक्रम मल्ल र उपाध्यक्ष भीम राई चुनाव लड्ने तयारीमा छन् ।


लामा र राईलाई मल्ल र लम्सालले मिलाउने प्रयास गरिरहेका छन् । तर दुवैले दाबी छाडेका छ्रैनन् । एउटै लाइनका दुई/दुई जनाले आकांक्षा देखाएपछि मिलाउन नेताहरूलाई समस्या परेको छ । दुवै पक्षबाट दुई/दुई जनाले लबिङ गरे पनि अन्तिममा एक/एक जना मात्र अध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । मल्लको प्यानलबाट उपाध्यक्षमा राजकुमार राई, नवराज पौडेल, बचन सिंह, सरोज यादव र महासचिवमा रचना खड्का उठ्ने तयारीमा छन् । लम्सालको प्यानलबाट उपाध्यक्षमा दीपक गौतम, ध्रुव राई, गुणराज आचार्य र महासचिवमा थोमस बांस्तोला उठ्ने योजनामा छन् ।

माधव ढुंगेल नेतृत्वको कार्यकालको सुरुआतदेखि नै अखिलमा विवाद थियो । त्यही विवादका कारण संगठनमा समानान्तर गतिविधि भएका थिए । संगठनभित्रको विवाद चरम भएपछि पार्टीले हस्तक्षेप गरी विवाद मिलाउने प्रयास गरेको थियो । विवादकै कारण कार्यकाल सकिँदासम्म पनि महाधिवेशन हुन नसकेपछि पार्टीले पुरानो कार्यसमिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गरेको थियो । त्यही समितिले महाधिवेशन गराउन लागेको हो । RSS, EKANTIPUR