विभिन्न संघ-संगठनहरुद्धारा दूतावासमा ज्ञापनपत्र बुझाई भारतीय प्रहरीको हस्तक्षेपको विरोध

काठमाडौं । बर्दियाको गुलरियास्थित मञ्जुलप्रसाद श्रेष्ठको घरमा भारतीय सशस्त्र प्रहरीले छापा मारेको घटनाको विभिन्न संघ-संगठनहरुले विरोध गरेका छन् । 
राष्ट्रिय युवा जनस्वयंसेवक, क्रान्तिकारी युवा विंग्स, युवा जनसुरक्षा बल लगायतका ४ वटा युवा संगठनहरुले आज संयुक्त रुपमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाई भारतीय प्रहरीको हस्तक्षेपको विरोध गरेका हुन् । 
नेपाली भूमिमा हतियारसहित प्रवेश गर्ने भारतीय प्रहरीलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । ती संगठनहरुले भारतीयहरुबाट बारम्बार नेपालको सार्वभौमिकताको अपमान गरेको भन्दै आक्रोश पनि पोखेका छन् । 
बर्दिया घटनाप्रति न भारत न त नेपाल सरकारले नै मुख खोलेका छन् । भारतको उत्तर प्रदेशमा अपराध गरी भागेको ब्यक्ति गुलरियास्थित मञ्जुलकुमारको घरमा लुकेको भन्दै भारतीय प्रहरीले हिजो बिहान छापा मारेको थियो ।
RSS, IMAGECHANNEL