काठमाडौं, – एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेतृ सुजाता कोइरालाले घोषित मिति सारेरै भए पनि नेकपा-माओवादीलाई चुनावमा ल्याउनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लवको बिहीबारको साक्षात्कारमा उनीहरुले माओवादीलाई बाहिर राखेर चुनावै हुन नसक्ने बताउँदै भइहाले पनि त्यसले संविधान बनाउनुको साटो मुलुकमा द्वन्द्व निम्त्याउने बताए ।
कांग्रेस नेतृ सुजाता कोइरालाले कुनै पनि दललाई बाहिर राखेर गरिने निर्वाचनको अर्थ नहुने बताए । ‘१२ बुँदेबाट सुरु भएको शान्ति प्रक्रियालाई अघि बढाउन माओवादीलाई निर्वाचनमा ल्याउनै पर्छ,’ उनले भने, ‘त्यसका लागि पनि चुनाव सार्नैपर्छ ।’
कोइरालाले सेना परिचालन गरेर जवरजस्ती निर्वाचन गर्न खोजिए मुलुकमा रक्तपात हुने चेतावनी दिँदै प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएका राष्ट्रपति यो विषयमा गम्भीर हुनुपर्ने धारणा राखिन् ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले संविधानसभाको निर्वाचनमा सबै दलको सहभागिता आवश्यक रहेकोले त्यसको सुनिश्चितताको लागि माओवादीको माग अनुसार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा र तयारीको लागि केही दिन समय सार्दैमा कुनै फरक नपर्ने बताए ।
संविधानसभाबाट कुनै पनि दल बाहिरिने अवस्था दुखदायी भएको भन्दै असन्तुष्ट दलहरुको केही माग सम्बोधन गरेर बातावरण बनाउनु उपयुक्त हुने तर्क गरे ।
– रिपोर्टर्स क्लव