दमस्कस । सिरियाले आफ्नो रासायनिक हतियार विवरण हेगस्थित रासायनिक हतियारको निगरानी गर्ने प्रोहिबिसन अफ केमिकल विफन्स ओपीसीडब्ल्यु संस्थामा पेश गर्न सुरु गरेको छ ।
ओपीसीडब्ल्युले सिरियाबाट थप विवरणको अपेक्षा गरेको जनाएको छ । संस्थाले यसैका लागि भोलि हुने आफ्नो बैठक स्थागित गरेको बीबीसीले जनाएको छ ।
ओपीसीडब्ल्युका प्रवक्ता माइकेल लुहानले सिरियाले पेश गरेको विवरणको संस्थाका विज्ञहरु जाँच गर्ने जनाएका छन् । सिरियासँग १ हजार टन रासायनिक हतियार रहेको विश्वास गरिन्छ ।
अमेरिका र रुसबीचको सम्झौता अनुसार सिरियाले आफ्नो रासायनिक हतियारको विवरण आजसम्म पेश गरिसक्नु पर्नेछ । यी हतियार सन् २०१४ को मध्य सम्म नष्ट गरिसक्नुपर्ने सहमित पनि भएको छ ।
गत अगष्ट २१ तारिखमा दमस्कस आसपासको क्षेत्रमा भएको रासायनिक अस्त्र आक्रमणपछि अमेरिकाले सिरियामा सैन्य कारवाहीको धम्की दिएको थियो भने संयुक्त राष्ट्रसंघले यसलाई युद्धअपराधको संज्ञा दिएको थियो ।