नेपालमा प्रत्येक वर्ष करिब १७ हजार अर्बुद रोगका बिरामीको मृत्यु हुने

काठमाडौँ – नेपालमा प्रत्येक वर्ष करिब १७ हजार अर्बुद रोगका बिरामीको मृत्यु हुने गरेको छ।  यहाँ आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका उपाध्यक्ष एवम् अर्वुद रोग विशेषज्ञ डा  राजेन्द्रप्रसाद बरालले स्तन तथा पाठेघरमा सो रोग बढी देखिएकाले महिलारोगीको सङ्ख्या बढ्दै गएको बताए।

स्तनमा लाग्ने रोगबाट तीन हजार, पाठेघरबाट चार हजार, फोक्सोबाट चार हजार तथा आन्द्रा, छाला, मुखलगायत कारण छ हजार रोगीको बर्सेनि मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो।

 

भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा प्रकाशराज न्यौपानेले धूमपान, मद्यपान तथा सूर्तीसेवनका कारण उत्पन्न हुने विभिन्न रासायनिक तत्वका कारण अर्बुदरोगी बढेका छन् भन्दै त्यसको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्न खाँचो रहेको बताए।

 विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि अशोक भुर्तेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका उपसचिव कृष्णचन्द्र पौडेल, रेस्टुरेन्ट तथा बार व्यवसायी महासङ्घका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठलगायतले सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ लाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरी सर्वसाधारण जनताको स्वास्थ्य तथा आर्थिक हितको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।

 

RSS