उम्मेदवारको मनोनयन गर्ने निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम एक हप्ता सार्न लगाएका प्रमुख तीन दलले अझपनि आफ्ना उम्मेदवारहरुको टुंगो लगाउन सकेका छैनन्।
एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले तीनवटै प्रमुख दलहरुले तल्लो निकायबाट पाएको सूचिलाई अन्तिम रुप दिने प्रयत्न भइरहेको बताएका छन्।
लामो सूचिबाट छान्ने काम अब बस्ने केन्द्रीय समितिले गर्ने एमाले अध्यक्ष झलनाथ खनालले बताए।
उनले भने, “केन्द्रीय समितिलाई छान्ने अधिकार छ, तल्लो तहले सिफारिश गरेकालाई नै अनुमोदन गर्छौं। विवादास्पदलाई मात्र हामीले मिलाइदिनेछौं।”
एकीकृत माओवादीले भने दुई तरिकाबाट संभावित उम्मेदवारको सूचि तयार पारेको बताएको छ।
केहि समयअघि केन्द्रबाट जिल्ला जिल्ला खटाइएका नेताले ल्याएको सूचि र स्थानीय निर्वाचन क्षेत्रले पठाएको सूचि भिडाएर निर्णय लिइने माओवादीका प्रवक्ता अग्नी सापकोटाले बताए।
उनले भने, “तीन दिनभित्र समानुपातिक र पाँच दिनभित्र पहिलो हुनेले जित्ने प्रणालीका लागि उम्मेदवार तय गरिसक्ने भन्ने निर्णय आजको केन्द्रीय कार्यालयको बैठकले गरेको छ।”
नेपाली कांग्रेसले पनि स्थानीय तहबाट सूचि प्राप्त गरिसकेको छ ।
तर सूचिको अन्तिम स्वरुप दिने पार्टीको संसदीय बोर्ड नै आपसी विवादका कारण गठन हुन सकेको छैन।
कांग्रेस सभापति सुशील कोइरालाले पार्टीका लागि लामो त्याग भएका र जित्ने दुवै खाले मिलाएर दिइने बताएका थिए।
आकांक्षीहरुको लामो सूचि र त्यसलाई छोट्याउनेबारेको आपसी विवादकै कारण दलहरुले समानुपातिक र पहिलो हुनेले जित्ने उम्मेदवारको अन्तिम सुचि तयार पार्न सकेका छैनन्।
उम्मेदवार तय गर्न नसकेकैले दलहरुले उम्मेदवार मनोनयनको पूर्व निर्धारित समयतालिका एक हप्ता पछाडि सारिदिन निर्वाचन आयोगलाई आग्रह गरेका थिए।
आयोगले गत बिहीबार समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली दुवैतर्फको निर्वाचन कार्यक्रमलाई एक हप्तापछि सारेको थियो।
BBCNEPALI, RSS