प्रकाश बराल
बागलुङ – आगामी निवार्चन जसरी पनि सफल बनाउने सन्देश दिन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १ सातादेखि धौलागिरिका गाउँमा छन् । केसीले संघीयतामा जाने निर्णय गरिए फेरि पनि संविधान नबन्ने बताउँदै गणतन्त्र संस्थागत गर्दै देशलाई पूर्ण विकेन्द्रीत राज्य प्रणालीमा लैजानुपर्ने सन्देश दिएका छन् । बागलुङ क्षेत्र नम्बर २ बाट जित्दै आएका केसीले यसपटक भने प्रत्यक्षमा उम्मेदवारी नदिने भएका छन् ।
आगामी निर्वाचन एमाओवादीका कारण बिथोलिन सक्ने आरोप उनले लगाएका छन् । ‘विभिन्न तिकडम गरेर वैद्यलाई समेत उक्साउने काममा प्रचण्ड लागेका छन्,’ केसीले भने, ‘संविधानसभा निर्वाचन चाहेकै हो भने सबै माग पूरा गरेर वैद्यलाई मनाउनुपर्छ ।’ एमाओवादी अंकगणितमा लागेकाले ऊप्रति शंका गरेको केसीले बताए । कहाँ र कति जित्न सकेमात्र निर्वाचनमा जाने भन्ने हिसाब गरेर एमाओवादी निर्वाचनबाट टाढा बस्न थालेको केसीको आरोप छ ।
नेकपा-माओवादीलाई निर्वाचनको उपयोग गरेर जान केसीले आग्रह गरेका छन् । ‘जनताले निर्वाचन चाहेका छन्, भागेर जनविश्वास प्राप्त हुँदैन,’ केसीले भने, ‘देश बचाउन निर्वाचन आवश्यक छ ।’ ४ दलीय संयन्त्रको रिसले जनतामा जान डराए इतिहासमा उनीहरू पछाडि पर्ने केसीले बताए ।
राष्ट्रियता ज्यादै खतरामा परेकाले जनता पनि देश बचाउन लाग्नुपर्ने उनले बताए । वैद्य पक्षले उठाएको राष्ट्रियताको मुद्दा चित्त बुझ्दो भए पनि निर्वाचन बिथोलेर त्यसको संरक्षण नहुने केसीको तर्क छ । जनतासँग डराएर देशको रक्षा गर्न नसकिनेसमेत उनले बताए ।