सरकारलाई आगामी संविधानसभा चुनावमा सेना परिचालनका लागि बाटो खुल्यो

काठमाडौं । सरकारलाई आगामी संविधानसभा चुनावमा सेना परिचालन गर्न बाटो खुलेको छ । राष्ट्रपति डा.रामवरण यादवले आज आगामी चुनावमा सेना परिचालन गर्ने गरी बाधा अड्काऊ फुकाउ आदेश जारी गरेपछि चुनावमा सेना परिचालनका लागि बाटो खुलेको हो ।

 

हिजो सरकारले आगामी मंसिर ४ गते हुने संविधानसभा चुनावमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि संवैधानिक प्रावधान मिलाउन राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको थियो ।

अन्तरिम संविधानको धारा १४५ मा प्राकृतिक विपत्तिको अवस्थामा बाहेक सेना परिचालनको निर्णय एक महिनाभित्र संसदले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्ने प्रावधान छ ।


तर, हाल संसद नभएकोले सो प्रावधानलाई नयाँ संसद गठनपछि अनुमोदन गर्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गरिएको हो ।


राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएपछि अब सरकारले चुनावमा पहिलो पंक्तिमा जनपद प्रहरी, दोस्रोमा सशस्त्र र त्यसपछि सेनाको घेरा बनाएर सुरक्षा दिने छ ।


नेकपा-माओवादीसहितका दलहरुले भने आन्तरिक मामिलामा सेना परिचालन गर्न खोजिएको भन्दै तीव्र विरोध जनाउँदै आएका छन् ।
 

 

RSS, IMAGECHANNEL