केन्या । केन्यामा राजधानी नैरोबीस्थित वेस्टगेट सपिङ मलमा भएको बन्धक प्रकरणमा सैनिकसहित ६६ जनाको मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले चार दिनसम्मको सुरक्षा कारबाही सकिएपछि सर्वसाधारण र सैनिक जवानको मृत्यु भएकोमा दुख ब्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गरेका हुन् । मलमा सर्वसाधारणलाई बन्धक बनाउनेविरुद्ध भएको सुरक्षा कारबाहीमा ५ आक्रमणकारी मारिएको र ११ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
मलमा सैनिक कारबाही सकिए पनि खोजी अभियान जारी छ । गत शनिवारदेखि बन्धक बनाइएका ब्यक्तिहरुलाई मुक्त गराउने क्रममा सेनाले मल हिजो आफ्नो नियन्त्रणमा लिएको थियो । घटनामा बेलायत, अमेरिका, चीन र भारतका नागरिक गरी १८ जना विदेशी पनि मारिएका छन् । आक्रमणमा १ सय ७० जनालाई घाईते बनाएका थिए ।
सोमालियाको अल सबाब विद्रोहीले सो मलमा सर्वसाधारणलाई बन्धक बनाई छानी छानी हत्या गरेका थिए । उनीहरुले पश्चिमी देशका पर्यटकलाई निशाना बनाएका थिए । सोमालियामा केन्याली सैनिक तैनाथीको विरोधमा आक्रमण गरिएको आक्रमणकारीको भनाई छ । आक्रमणकारीहरु मध्ये अरबी वा सोमाली मुलका दुई वा तीन, अमेरिकी नागरिक र बेलायती महिला रहेको बताइृएको छ ।
बेलायतमा सन् २००५ मा यातायात प्रणालीमा आक्रमण गर्ने ब्यक्तिकी विधवा समन्था लेउथवेटको पनि यस घटनामा संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । आक्रमणको समयमा सपिङ मलमा १५ सय जनासम्म मानिस रहेको अनुमान गरिएको छ ।
Agencies