हेटौंडा – एकीकृत नेकपा माओवादी केन्द्रीय सल्लाहकार परिषद् सदस्य नवराज शर्मा तिमल्सिनाले पार्टी त्यागेका छन् । हेटौंडामा भएको सातौं महाधिवेशनको कार्यदिशा र त्यसपछि पार्टीमा देखिएको भद्रगोल तथा विचलनले आफूले एमाओवादी त्याग गरेको उनले बताए ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर शर्माले आफू अब कुनै पनि पार्टीमा नभई स्वतन्त्र पत्रकारका हैसियतमा रहने जानकारी दिएका छन् । एमाओवादीमा पछिल्लो समयमा भद्रगोल तथा अनियमितता बढेको बताउँदै उनले निष्ठाको राजनीतिमा उक्त पार्टी नरहेको आरोप लगाए ।
२७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका शर्मा ०५४ मा एमाले विभाजन भएपछि सीपी मैनाली नेतृत्वको नेकपा मालेमा केन्द्रीय सदस्य बनेका थिए । ०६५ मा माले छाडेर उनी एमाओवादी प्रवेश गरेका थिए । शर्मा पत्रकार महासंघका पूर्वशाखा सभापति पनि हुन् । ईकान्तिपुर