नेकपा-माओवादी सहितका ३३ दलले आमहड्ताल सहितका विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार पत्रकार सम्मेलन गरि मोर्चाले सशक्त विरोधका कार्यक्रम घोषणा गरेको हो । नेकपा-माओवादीका सचिव देव गुरुङले घोषित संविधानसभा विथोल्न कात्तिक २५ देखि मंसिर ५ सम्म आमहड्ताल गर्ने घोषणा गरेका छन् ।
साथै उनीहरुले असोज १३ गते सबै जिल्लाका निर्वाचन आयोगका कार्यालयहरुमा बाह्य शक्तिहरुको प्रायोजनमा हुन लागेको मङ्सिर ४ को निर्वाचनको कार्यक्रम कार्यान्वयन नगर्न र नगराउन सचेतता पत्र बुझाउने पनि बताएका छन् ।
असोज १६ गते राष्ट्रघाती निर्वाचन बहिष्कार सम्बन्धी प्रचा वितरण गर्ने उनीहरुले बताएका छन् ।
असोज १७ गते सबै जिल्ला सदरमुकामहरुमा नेपाललाई सिक्किमीकरण गर्नका लागि राष्ट्रघाती तथा लेण्डुप दोर्जे जस्तो विदेशी दलाल बन्न तयार भएका ४ दलका शीर्ष नेताहरुको प्रतिकात्मक पुतला बनाई जलाउने पनि पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार बसेको ३३ दलीय मोर्चाले असोज १३ गतेदेखि मंसिर ५ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको हो ।
घोषित कार्यक्रममा १३ गते सबै जिल्ला निर्वाचन कार्यलयलाई कार्यान्वयन नगर्न सचेतता पत्र बुझाउने, १६ गते चुनाव बहिस्कारको प्रचार गर्ने र १७ गते चार दलका शीर्ष नेताहरुको पुत्ता लगाउने छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार १० गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन हो । यसअघि असोज १० गतेको उम्मेदवारी दर्तालाई लक्षित गरेर ३३ दलले ९ र १० गतेे नेपाल बन्दको घोषणा गरेको थियो । तर, निर्वाचन आयोगले उम्मेदवारी दर्तालाई १७ गते सारेपछि ३३ दललाई दशैंको मुखमा बन्द आहृवान गर्न संकट परेको एक नेताले बताए ।
असोज १९ गतेदेखि कात्तिक १ गतेसम्म घरदैलो अभियान चलाउने र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताका लागि पत्राचार गर्ने, सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई चुनावमा साथ नदिन अपील गर्ने घोषणा गरेका ३३ दलीय मोर्चाले कात्तिक २ गतेबाट उम्मेदवारलाई जिल्ला तथा गाउँ प्रवेशमा रोक लगाउने, उम्मेदवारको घर अगाडि कालो झण्डा गाढ्ने र सामाजिक बहिस्कार अभियान सञ्चालन गर्ने बताएको छ ।
चार दलका शीर्ष नेताहरु गएका समयमा जिल्ला बन्द गर्ने, बुथ बुथमा युवाहरुको बहिस्कार टोली खटाउने र कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आहमड्ताल गरी मंसिर ४ को चुनावलाई सक्रिय रुपमा बहिस्कार गर्ने ३३ दलको कार्यक्रम छ ।
स्रोत: नेपाली अन्लाईन संचारमाध्यमहरु