राष्ट्रसंघका आवासीय प्रमुख र नेकपा-माओवादी शीर्षनेताहरुबीच गोप्य भेटवार्ता

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रमुख, स्वीट्जरल्याण्डका राजदूत र नेकपा-माओवादी शीर्षनेताहरुबीच शनिबार गोप्य भेटवार्ता भएको छ ।


ललितपुरमा साँझ भएको भेटमा नेपालका लागि राष्ट्रसंघका आवासीय समन्वयकर्ता जेमी म्याकगोडि्रक र स्वीस राजदूत उर्स हेरेन तथा माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य, उपाध्यक्ष एवं अन्तराष्ट्रिय विभाग प्रमुख सीपी गजुरेल र सचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो ।


स्रोतका अनुसार ३३ दलीय मोर्चामा रहेका केही नेताले हालै मात्र जेमीसहितका कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई भेटेर बैद्य माओवादी पनि चुनावमा आउने भन्दै छलफल गर्न सुझाएका थिए ।


यसअघि शुक्रबार साँझ मात्र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको पहलमा कांग्रेस, एमालेसहित आन्दोलनरत ३३ दलीय मोर्चाका केही नेताबीच छलफल समेत भएको थियो । नेताहरुबीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने र मंसिरको चुनाव सारेर भए पनि वैद्यलाई सहमतिमा ल्याउनेबारे छलफल भएको थियो । ONLINEKHABAR