काठमाडौ – एमाओवादीले प्रमुख नेतासहित २७ जिल्लाका ४२ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र पोस्टबहादुर बोगटीसहित हिमाली, पहाडी क्षेत्रमा उम्मेदवार घोषणा गरेको हो ।
दाहाल निवास लाजिम्पाटमा आइतबार बसेको ‘हेडक्वाटर’ को बैठकले पहिलो चरणका उम्मेदवारको सूचीलाई अन्तिम रूप दिएको हो । दाहाल काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बन्ने भएका छन् । उनी गएको संविधानसभामा काठमाडौं १० र रोल्पा २ बाट विजयी भएका थिए ।
नेता भट्टराई गोरखा २ छाडी १ र रूपन्देही ४ बाट उम्मेदवार बनेका छन् । नेता बोगटी पुरानै नुवाकोट ३ बाट उठ्ने भएका छन् । उनको पश्चिम तराईबाट उम्मेदवारी दिने चर्चा थियो ।
पार्टीभित्रको असन्तुष्टिका कारण नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छैनन् । मकवानपुर २ बाट उम्मेदवारी दिने उनको मनस्थिति छ ।
एमाओवादीले दोस्रो र तेस्रो चरणमा अन्य क्षेत्रको उम्मेदवार घोषणा गर्ने प्रवक्ता अग्नि सापकोटाले जनाए । ‘अबको दुई दिनभित्र सबै उम्मेदवार घोषणा हुन्छ,’ उनले भने ।
आइतबार घोषणा भएकामध्ये आठ पूर्वसभासद हुन् । उनीहरूमा दाहाल, भट्टराई, बोगटी, रेणु चन्द, लेखराज भट्ट, नरबहादुर बिष्ट, भक्तबहादुर शाह, सत्य पहाडी, सुदन राई, दुर्गाजयन्ती राई र सञ्चपाल मादेन छन् ।
सुदूरपश्चिमका नेता लेखराज भट्ट यसपटक कैलालीबाट डोटी २ मा उक्लेका छन् । पूर्वलडाकु डिभिजन कमान्डर महेन्द्रबहादुर शाही पनि उम्मेदवार बनेका छन् । ४२ जनामध्ये तीन महिला छन् ।
श्रीमान्-श्रीमती उम्मेदवार
शक्तिबहादुर बस्नेत जाजरकोट १ बाट र उनकी श्रीमती सत्य पहाडी डोल्पाबाट उम्मेदवार बनेका छन् । पहाडी यसअघि समानुपातिकबाट सभासद थिइन् । अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला बस्नेत उनका प्रमुख स्वकीय सचिव थिए । श्रीमान्-श्रीमती दुवै विगतमा मन्त्री भइसकेका छन् ।
एमाओवादीद्वारा ४२ तय
अछाम १- दीपक साउद २- झंकर रावल
बैतडी १- नरेन्द्र कुँवर २- रेणु चन्द
बझाङ १- देवराज रेग्मी २- हरि कुँवर
दार्चुला- ललित सिंह ठगुन्ना
डडेलधुरा- खगराज भट्ट
बाजुरा- सहदेव बोगटी
डोटी १- मोहन बम
सुर्खेत १- ठम्मर बिष्ट २- भीमबहादुर मल्ल
३- नरबहादुर बिष्ट
दैलेख १- तेजबहादुर चन्द
२- थिरबहादुर कार्की
जाजरकोट १- शक्तिबहादुर बस्नेत
२- भक्तबहादुर शाह
डोल्पा – सत्य पहाडी
जुम्ला – गजेन्द्रबहादुर महत
कालीकोट – महेन्द्रबहादुर शाही
मुगु – सुकवीर बुढा
हुम्ला – छिरिङ डम्दुल लामा
मनाङ – कपिल लामा
संखुवासभा १- इन्द्र हाङ राई २- राजेन्द्र किराँती
भोजपुर १- खेमराज नेपाली २- सुदन राई
खोटाङ १- दुर्गाजयन्ती राई २- देवान राई
सोलुखुम्बु- गोम्बु शेर्पा
ताप्लेजुङ १- सञ्चपाल मादेन
२- टंक आङबुहाङ
तेह्रथुम- दुर्गाप्रसाद चापागाईं
EKANTIPUR