दुर्गा खनाल, ईकान्तिपुर
काठमाडौ – नेकपा एमालेले सुदूरपश्चिम, मध्यपश्चिम र अन्य क्षेत्रका हिमाली पहाडी जिल्लाका उम्मेदवारको टुंगो लगाउँदै आइतबारदेखि आधिकारिक उम्मेदवारी पत्र वितरण गर्न थालेको छ । अञ्चल इञ्चार्ज र राजधानीमा उपलब्ध उम्मेदवारलाई व्यक्तिगत रूपमा पत्र दिन थालेको हो । नेताहरूका अनुसार आइतबार कार्यालय समयभित्र ३३ वटा जिल्लाका उम्मेदवारलाई पत्र दिइएको छ ।
अध्यक्ष झलनाथ खनालको हस्ताक्षरसहितको उम्मेदवारी पत्र एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले वितरण गरेका हुन् । स्थायी समितिका नेताहरू व्यस्त भएकाले विभाग प्रमुखले टुंगो लागेका उम्मेदवारलाई पत्र दिएका हुन् । उम्मेदवारहरू निर्वाचन क्षेत्रमा पुग्न समय लाग्ने भएकाले सुदूरपश्चिम, मध्यपश्चिम, हिमाली र पहाडी जिल्लाको पहिले टुंगो लगाएको हो । धेरै जिल्लामा उम्मेदवार टुंगो लागे पनि एमालेले सार्वजनिक गरेको छैन । सबै जिल्लाको नाम करिब टुंगो लागेको र सम्भवतः सोमबार बेलुकासम्म पत्रकार सम्मेलन गरी नामावली सार्वजनिक गर्ने तयारी एमालेको छ ।
‘उम्मेदवार पुग्न समय लाग्ने भएकाले केही दुर्गम, पहाडी हिमाली क्षेत्रमा आधिकारिक उम्मेदवारी पत्र दिइएको छ,’ निर्वाचन विभाग प्रमुख खरेलले कान्तिपुरसँग भने, ‘करिब सबै जिल्लाको टुंगो लागिसकेको छ, सम्भवतः सोमबारसम्म एकै पटक सबैको नामावली सार्वजनिक हुन्छ ।’ निर्वाचन आयोगले तोकेको फारमअनुसार उम्मेदवारलाई टिकट दिइएको छ । टुंगो लागेकाहरूमा केही पुरानो चुनावमा भाग लिएका र केही नयाँ अनुहार छन् ।
एमालेले उपाध्यक्ष वामदेव गौतम दुई ठाउँबाट उठ्ने भएका छन् । उनलाई बर्दिया १ र प्यूठान १ का लागि पार्टीले अनुमति दिएको छ । सचिव शंकर पोखरेलले दाङ ४, पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य भीमबहादुर रावलले अछाम १ मा उम्मेदवार बन्ने भएका छन् । पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यान १, केन्द्रीय सदस्यहरू देवराज भार बाँके १, कर्णबहादुर थापा बाजुरा र राजेन्द्र गौतम संखुवासभाबाट उठ्ने भएका छन् । वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई भोजपुर २ को उम्मेदवार भएका हुने भएका छन् ।
आधिकारिक पत्र नदिए पनि अन्य धेरै क्षेत्रको नाम टुंगो लगाइसकेको छ । एकै पटक सबैको नाम सार्वजनिक गर्ने भन्दै शीर्ष नेताहरूको पनि आधिकारिक घोषणा हुन बाँकी छ । शीर्ष नेताहरूमा एमाले अध्यक्ष झलनाथ खनाल इलाम १ र पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट उठ्दै छन् । वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २ र रौतहट १ गरी दुई स्थानबाट उठ्दै छन् । नेता केपी ओली झापा ७, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ र सचिव विष्णु पौडेल रूपन्देही ४ बाट उठ्ने टुंगो लागेको छ । स्थायी समितिमा रहेका सचिव युवराज ज्ञवाली र भरतमोहन अधिकारी यसपटक प्रत्यक्षमा नउठ्ने भएका छन् ।
नयाँ मापदण्डले असन्तुष्टि
यसअघिको चुनाव जित्ने र निकटतम प्रतिद्वन्द्वी रहेका नेतालाई प्राथमिकता दिने स्थायी समितिको निर्णयका कारण एमालेभित्र असन्तुष्टि बढेको छ । क्षेत्रीय समितिको सिफारिसमा परेको भए यसअघिका विजयी र निकटतम प्रतिद्वन्द्वीलाई उम्मेदवारी दिने मापदण्ड स्थायी समितिले तय गरेको थियो । यो मापदण्डले ठूलो संख्यामा जित्ने सम्भावना बोकेका र युवाहरू उम्मेदवार बन्नबाट वञ्चित हुने भन्दै चर्को विरोध भएको छ । यो मापदण्डले धेरै केन्द्रीय सदस्य र युवा नेताहरू उम्मेदवार हुनबाट वञ्चित हुने उनीहरूको दाबी छ ।
‘पहिले एउटा मापदण्ड तय गरेर सिफारिस मागियो, अहिले फेरि अर्को मापदण्ड तय गरिएको छ यो गलत हो,’ नेता खगराज अधिकारीले भने, ‘यसले क्षेत्रीय, जिल्ला समितिहरूको सिफारिसलाई मानमर्दन भएको छ ।’ पछिल्लो मापदण्डअनुसार निर्णय हुने हो भने धेरै स्थानमा एमालेको हार हुने नेताहरूको दाबी छ । ‘३० वर्षसम्म एउटै नेता उम्मेदवार बन्ने हो भने अरूले कहिले अवसर पाउने ?’ काभ्रे जिल्ला अध्यक्ष गोकुल बाँस्कोटाले भने, ‘यो मापदण्ड लागू हुने हो भने एमाले पहिलो होइन, पाँचौं पार्टी बन्न सक्छ ।’
एमाले पत्र बाँड्दै
कालीकोट- कुर्मराज शाही
मुगु- मोहन बानियाँ
जुम्ला- पदमबहादुर रोकाया
हुम्ला- दलबहादुर रावल
डोल्पा- धनबहादुर बुढा
बाजुरा- कर्ण थापा
अछाम १-भीमबहादुर रावल
२- भरत साउद
बझाङ १- मानबहादुर रावल
२-लालबहादुर रावल
डोटी १- नारद मलासी
२- प्रेमबहादुर आले
दार्चुला- गणेशसिंह ठगुन्ना
डडेलधुरा- डा. तारा जोशी
बैतडी १- दामोदर भण्डारी
२- महादेव भट्ट
बर्दिया २- पूर्ण शर्मा
बर्दिया ३. विष्णु चौधरी
४. लोटनकुमार चौधरी
जाजरकोट १. डम्बरबहादुर सिंह
२. कृष्णबहादुर बुढा
दैलेख १. अमरबहादुर थापा
२. लक्ष्मीप्रसाद पोखरेल
कञ्चनपुर १. लालबहादुर विश्वकर्मा
२. कृपाराम राना थारू
३. नरबहादुर धामी
४. उर्वादत्त पन्त
म्याग्दी नवराज शर्मा
रोल्पा १. हिमबहादुर रोकामगर
२. कुमार दसौदी
दाङ १. रेवतीरमण शर्मा
२. शान्ता चौधरी
३. लक्ष्मण आचार्य
४. शंकर पोखरेल
५. उत्तरकुमार ओली
बाँके १. देवराज भार
२. दिनेशचन्द्र यादव
३. पदम धिताल
४. दलबहादुर सुनार
रसुवा जनार्दन ढकाल
मनाङ छिरिङ लोप्साङ
मुस्ताङ चन्द्रमोहन गौचन
रुकुम १. खेममान खड्का
२. ठगेन्द्रप्रकाश पुरी
प्यूठान १. वामदेव गौतम
२. हिराबहादुर केसी
सल्यान १. गुलाबजंग शाह
२. प्रकाश ज्वाला
खोटाङ १. पाँचकर्ण राई -पीके राई)
२. विशाल भट्टराई
ताप्लेजुङ १. भूपेन्द्र थेवे
२. डम्बरध्वज तुम्बाहाम्फे
पाँचथर १. गणेश काङमाङ
२. डम्बरसिंह सम्बाहाम्फे
संखुवासभा १. हेमराज घिमिरे
२. राजेन्द्र गौतम
तेह्रथुम भवानी खापुङ
भोजपुर १. कृपासुर शेर्पा
२. शेरधन राई
सोलुखुम्बु आङनिमा शेर्पा