समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक १ सय २४ दलहरुद्धारा निर्वाचन आयोगमा निवेदन दिए

पहिलो संविधानसभा निर्वाचनको तुलनामा दोब्बर भन्दा बढी दलहरुले समानुपातिक तर्फ सहभागिताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।


नेकपा माओवादी सहितका असन्तुष्ट समूहहरुले आइतबार मुख्य दलहरुलाई चुनाव सारेर वार्ताको लागि आग्रह गरेपनि सोमबारदेखि निर्वाचनको औपचारिक प्रक्रिया शुरु भएको छ।


दलहरुले निवेदन दर्ता गरेपनि उम्मेदवारको नामावली भने अझै तयार पारिसकेका छैनन्।


निर्वाचन आयोगका अनुसार गत संविधानसभामा ५४ वटा दलको सहभागिता थियो।


सोमबार १ सय २४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दर्ता गरेका छन्।

निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले आवेदनसँगै मंसिर ४ को निर्वाचन तर्फ मुलुक अग्रसर भएको बताए।
उनले भने, “कहिँ कोठा, चोटा बैठकमा कुराकानी भएको आयोगलाई थाहा हुने कुरा भएन। आयोगले तयारी गर्दै आए अनुसार आजदेखि समानुपातिक प्रणालीको प्रक्रिया शुरु भयो।”


समानुपातिक प्रणालीका लागि आवेदन दिन निर्वाचन आयोगमा पुराना र नयाँ अनुहारहरु दिनभर घुइँचो लागेका थिए।
पछिल्लो समयमा आयोगले दर्ता गरेका १३० दलहरुमध्ये अधिकांशले यसपटक समानुपातिक प्रणालीमा सहभागी हुन इच्छा व्यक्त गरेका छन्।

 

आयोगको पूर्व प्रकाशित कार्यक्रम अनुसार उम्मेदवारको बन्द सूची आगामी शुक्रबार बुझाउनुपर्नेछ।


अघिल्लो संविधानसभा जस्तै समानुपातिक प्रणाली अन्तर्गत ३३५, प्रत्यक्षतर्फ २४० र मन्त्रिपरिषदले मनोनयन गर्ने २६ गरी ६०१ सदस्यीय संविधानसभा बन्नेछ।


चुनाव बहिष्कार गर्ने घोषणा गरेको मोर्चाको नेतृत्व गर्दै आएको नेकपा माओवादी आयोगमा दल दर्ता नगरेर शुरुदेखि निर्वाचनको मैदान बाहिरै बसिरहेको छ।


निर्वाचनको औपचारिक प्रक्रिया अगाडि बढेकाले अन्य दल समेट्न अब संभव नरहेको र चुनावलाई आवश्यक शान्ति सुरक्षा सरकारले प्रदान गर्ने आयुक्त गुरुङले बताए।


समानुपातिक र प्रत्यक्ष दुबै प्रणालीका लागि आवश्यक उम्मेदवारको सूचीलाई अन्तिम रुप दिन भने दलहरुलाई हम्मे हम्मे परिरहेको छ।  RSS, BBCNEPALI