दसैं, तिहार, छठ तथा ल्होसारजस्ता चाडपर्वमा आपराधिक घटनालाई नियन्त्रण गर्ने भन्दै कास्की प्रहरीद्धारा विशेष सुरक्षा योजना लागू

पोखरा – दसैं, तिहार, छठ तथा ल्होसारजस्ता चाडपर्वमा आपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्ने भन्दै कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना आइतबारदेखि लागू गरेको छ । विगतमा भएगरेका आपराधिक घटनाको विश्लेषण तथा अध्ययन गरी सुरक्षा योजना ल्याइएको प्रहरीले जनायो । अवान्छित घटना हुन नदिने, घटना/अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रण, सुरक्षाकर्मीलाई समन्वयात्मक रूपमा परिचालन गर्ने, अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान र विशेष टोली परिचालन गर्ने उद्देश्य सुरक्षा योजनाको छ ।


चाडबाडमा विदेशिएका र्फकने, नगरमा बस्दै आएका गाउँ जाने, सरकारी तथा गैरसरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने भएकाले विशेष सुरक्षा योजना ल्याउनुपरेको आइतबार पत्रकार सम्मेलनमा प्रहरीले जनायो । साथै सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढ्ने हुनाले पकेटमार, चोरी तथा लुटपाट हुन सक्ने, बंैक तथा वित्तीय संस्था, सुनचाँदी पसल र अन्य व्यापारिक केन्द्रमा समेत कारोवार बढ्ने र धार्मिकस्थलमा दर्शनार्थीको भीड हुने भएकाले त्यस्ता स्थानमा आपराधिक गतिविधि हुन सक्ने भन्दै प्रहरीले विशेष निगरानी बढाएको जनाएको हो । ‘कुनै पनि आपराधिक गतिविधि नियन्त्रणका लागि हामीले आपराधिक कार्यविधिको पहिचान गरी सुरक्षा रणनीति बनाएका छौं,’ कास्की प्रहरी प्रमुख एसपी केदार रिजालले भने, ‘विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन पनि गर्ने छौं ।’


प्रहरीले चोरी तथा डाँका गर्ने, हतियार देखाएर लुटपाट गर्ने, नक्कली डलर तथा सुन देखाएर, पेय तथा अन्य खाद्य पदार्थमा नशालु पदार्थ मिसाएर खुवाएर लुटपाट गर्ने, नक्कली टिकट बिक्री, राजनैतिक दलका भ्रातृ संस्था, संघसंस्था क्लबले जबरजस्ती चन्दा असुली गर्न सक्ने घटनालाई आपराधिक कार्यविधि भनेको छ । यसैगरी पर्यटकका सामान चोर्ने, यात्रुलाई लुट्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका गतिविधि नियन्त्रणका लागि पनि प्रहरीले योजना अघि सारेको छ ।


पटका आतिसबाजी भुइँचम्पाजस्ता विस्फोटक पदार्थ भित्रन नदिने, प्रशासनलगायतका सरोकारवालासँग समन्वय गरी उच्च सतर्कतासाथ सुरक्षा व्यवस्था लागू गर्ने, भीडभाडमा प्रहरी परिचालन गर्ने, देउसीभैलोको नाममा जबरजस्ती चन्दा असुल्ने कामलाई नियन्त्रण गर्ने, नाकामा कुकुरसहितको चेकजाँच गर्ने, राजमार्ग सुरक्षा विशेष गस्तीको व्यवस्था, मापसे चेकिङ तीव्र पारिने प्रहरी प्रवक्ता राजेशनाथ बास्तोलाले बताए । EKANTIPUR